काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि मंगलबार बाँडफाँड गरिने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड गर्नेछ। आईपीओ बाँडफाँड कार्यक्रम प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालयमा बिहान ९ः३० बजे राखिएको छ। 

कम्पनीले गत वैशाख ८ गतेदेखि वैशाख १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको रु. १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको थियो। कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। 

निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १३ लाख ३१ हजार २३८ जनाले कुल १ करोड ४८ लाख ७ हजार ७५० कित्ताका लागि आवेदन दिएका छन्। जुन मागभन्दा ११.६६ गुणा बढी आवेदन हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी १ लाख २६ हजार ९४१ जनाले मात्र सेयर हात पार्नेछन् भने तिनै भाग्यमानी आवेदनमध्ये १ जनाले थप १ कित्ता सेयर पाउनेछन्।