काठमाण्डौ । तिज नजिकिदै जाँदा माउण्ट मकालू डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १५० प्रतिशत हकप्रदको उपहार दिने घोषणा गरेको छ । यो घोषणा अनुसार सेयरधनीले आगामी भदौ १६ गतेदेखि हकप्रदका लागि आवेदन दिन सक्ने छन् । 

बैंकले आइतबार जारी गरेको सूचना अनुसार सेयरधनीले १ बराबर १.५ को अनुपातमा हकप्रद पाउनेछन् । त्यसका लागि भदौ १६ गतेदेखि आवेदन खुल्ला भई ३५ दिनसम्म अर्थात, असोज १९ गतेसम्म खुल्ला रहनेछ । 

माउण्ट मकालुले आफ्ना सेयरधनीका लागि १ सय रुपैयाँ अंकित मूल्यका ३ लाख ९० हजार कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । 

१५० प्रतिशत हकप्रदको बुक क्लोजर मिति साउन २१ गते तोकिएको थियो । यसको अर्थ साउन २० गतेसम्म यो बैंकको सेयर आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि एनआइबिएल क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ । 

इच्छुक सेयरधनीले एनआइबिएल क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित मुख्य कार्यालय र माउण्ट मकालु डेभलपमेन्ट बैंकको मुख्य कार्यालय तथा सबै शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । 

घोषित हकप्रदको निश्कासनपछि बैंकको चुक्तापूँजी ६ करोड ५० लाख पुग्नेछ । हाल यो बैंकको चुक्तापूँजी २ करोड ६० लाख रुपैयाँ रहेको छ । बैंकको अधिकृत पूँजी ८ करोड छ । हाल बैंकमा पब्लिक प्रोमोटर सेयर स्वामित्व ७० : ३० को अनुपातमा छ । 

माउण्ट मकालु डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा ३९ लाख ८७ हजार रुपैयाँ खूद नाफा आर्जन गरेको छ ।