काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले यसअघि स्थगित गरेको उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्न भनिएको आईपीओ पुनः आज (भदौ ३१ गते) बाट बिक्री खुला गरेको छ।
यसअघि कम्पनीले गत साउन ८ गतेबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासनको तयारी गरेको थियो। तर त्यही बेला देशका अधिकांश स्थानहरुमा बाढीपहिरो कारण भयावह अवस्था सिर्जना भएकोले प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिने भएकोले आईपीओ निष्कासन प्रक्रिया अर्को सूचना प्रकाशित नभएसम्मका लागि कम्पनीले स्थगित गरेको थियो।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुलाउनेछ। कम्पनीले गत असार २५ गते नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँअंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जुन कम्पनीको जारी पुँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँबराबरको हुन आउँछ।
त्यसमध्ये पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता (जारी पुँजीको १० प्रतिशत) आईपीओ बिक्री गर्न लागिएको थियो। दोस्रो चरण सर्वसाधारणका लागि सोहीबराबर अर्थात १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ।
पहिलो चरणमा निष्कासन गरिने आईपीओमा प्रभावित क्षेत्रका स्थानीयले छिटोमा असोज १४ गतेभित्र खरिद आवेदन दिइसक्नुपर्ने भनिएको छ। सो मितिभित्र बिक्री नभएमा असोज २९ गतेसम्म आईपीओमा खरिद आवेदन दिन सक्ने भनिएको छ।
स्थानीयका लागि खुलाइने आईपीओमा नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितलाई ४० प्रतिशत र प्रभावित ६० प्रतिशत छुट्टाइएको छ। दुवै वर्गका प्रभावितहरुले १० कित्तादेखि २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्ने छन्।
नुवाकोट जिल्लामा अतिप्रभावित क्षेत्र पञ्चकन्या गापा वडा नं. ४ (साविकको थप्रेक गाविस) र तादी गापा वडा नं. २, ३ र ४ (साबिक रालुकोदेवी र सुन्दरादेवी गाविस) तथा प्रभावित क्षेत्रमा तादी गापा, पञ्चकन्या गापा, लिखु गापा छन्।
त्यस्तै म्याग्दीका अतिप्रभावित क्षेत्रमा अन्नपूर्ण गापा वडा नं. ४ (साविकको नारच्याङ गाविस) र प्रभावित क्षेत्रमा अन्नपूर्ण गापा म्याग्दी छन्। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago