काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले निश्कासन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । 

यो कम्पनीले कात्तिक २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेको थियो । आइपीओ यसअघि नै ओभरसब्सक्राइब्ड भइसकेको छ । 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पुँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो। कम्पनीले रु. १०० अंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। 

त्यसमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणले बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र सीबीआईएल क्यापिटल लिमिटेड रहेका छन्। 

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँबराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो।

यो आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ग्रेड ४ प्लस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँदछ।