काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। 

माओवादी केन्द्रको घोषणापत्रमा कृषि क्षेत्रको रुपान्तरणमा जोड दिइएको छ। ‘समृद्ध किसान, देशको सान : आत्मनिर्भर कृषि, हाम्रो अभियान’ नाराका साथ परम्परागत कृषि प्रणाली र ससानो भूमिमा छुट्टाछुट्टै रुपमा गरिने निर्वाहमुखी खेतीको कारण कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन न्यून रहिआएको घोषणापत्रमा उल्लेख छ। ‘कृषकको श्रमको मूल्य पनि नउठ्ने अवस्थाले कृषकहरु कृषि पेसाबाट पलायन हुँदा जमिन बाँझो रहने क्रम बढ्दै गएको छ’, घोषणापत्रमा भनिएको छ, ‘फलस्वरुप मुलुकमा प्रतिवर्ष खर्बौं रुपैयाँ बराबरको कृषि वस्तु आयात गर्नुपरेकोले ठूलो व्यापार घाटा व्यहोर्नुपरेको छ।’

लामो समयदेखि चलिआएको यस क्रमलाई भंग गर्न कृषि क्षेत्रलाई किसानको हित केन्द्रित गरी आधुनिकीकरण र व्यावसायीकरण गरिने पार्टीले संकल्प गरेको छ। ‘आगामी पाँच वर्षभित्र प्रमुख खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, अन्डा र दुधमा मुलुकलाई आत्मनिर्भर तुल्याउनुका साथै कृषि उपजको निर्यात उल्लेख्य रुपमा बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ’, घोषणापत्रमा भनिएको छ। 

माओवादी केन्द्रको समष्टिगत आर्थिक नीति

  • आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा प्रमुख जोड।
  • जमिन, जब्गल, पानी, खानी र जैविक विविधता लगायतका प्राकृतिक स्रोतको उच्चतम उपयोग।
  • स्वास्थ्य र शिक्षामा राज्यको लगानी वृद्धि र प्रभावकारी व्यवस्थापन तथा नियमन,
  • सर्वसुलम एवं गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा जोड।
  • गाउँ–गाउँ पुग्ने पर्यावरणमैत्री दिगो पूर्वाधार विकास।
  • जातीय, क्षेत्रीय, लैंगिक, भाषिक र सांस्कृतिक विभेदको अन्त्य र विकासको प्रतिफलको न्यायोचित वितरण।
  • हरेक उमेर समूह र वर्गका नागरिकका लागि सबल सामाजिक सुरक्षा प्रणाली।
  • भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती विरुद्ध प्रभावकारी सुशासनमा जोड।

माओवादी केन्द्रको मूल रणनीति

  • स्थिरता, शान्ति र समृद्धिका लागि शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्ने।
  • न्यायपालिका र प्रशासन संयन्त्रको जनमुखी पुनर्संरचना गर्ने।
  • युवा शक्तिलाई देश निर्माणमा परिचालन गर्ने, विदेशमा रहेकालाई स्वदेश फर्कने वातावरण बनाउने।
  • कृषि क्षेत्रको रूपान्तरण गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्ने।
  • हरेक क्षेत्रमा सामूहिक उत्पादन प्रणालीको विकास गरी कार्यान्वयन गर्ने।
  • निजी क्षेत्रको लगानी र राष्ट्रिय पुँजीको विकासलाई प्रोत्साहन गर्ने।
  • मजदुर, किसान, श्रमजीवी र विपन्न वर्गलाई समृद्धिको केन्द्रमा राख्ने।
  • विकासलाई प्रकृतिमैत्री बनाउने।
  • दुई अंकको आर्थिक वृद्धि हासिल हुने आधार निर्माण गर्ने।
  • पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादन इकाइहरुको नेतृत्व गर्न परिचालन गर्ने।