काठमाण्डौ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले प्रिमियम दरमा निश्कासन गरेको आइपीओ खरीदका लागि आवेदन दिने आज(मंगलबार) अन्तिम दिन हो । 

कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि ९० लाख कित्ता आइपीओ निश्कासन गरेको थियो ।

आइपीओ यसअघि नै ओभरसब्सक्राइब्ड भइसकेकोले छिटोमा आवेदन दिने भनी तोकिएको आजसम्म मात्र इच्छुकले खरीदका लागि आवेदन दिन पाउनेछन् । 

कम्पनीको जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यसैको ३० प्रतिशतले हुन आउने पूँजी बजारको आइपीओ बिक्री गर्ने उद्देश्यले निश्कासन गरिएको हो । 

कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको कम्पनीले ११ लाख २५ हजार कित्ता विदेशमा काम गर्ने नेपालीका लागि, ५ लाख ६२ हजार ५०० कम्पनीका कर्मचारीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता नै म्युचुअल फण्डहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९० लाख कित्ता सर्वसाधारणका लागि निश्कासन गरेको हो । 

कम्पनीले अंकित दर १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर कुल रु. २४४ प्रतिकित्ताको दरले आइपीओ निश्कासन गरेको छ। 

सिडिएससीका अनुसार यो कम्पनीको आइपीओमा सोमबार रातिसम्म ११ लाख ७ हजार ४८ आवेदकले आवेदन दिइसकेका छन् ।

उनीहरुले १ करोड २४ लाख ५० हजार १२० कित्ता माग गर्दै आवेदन दिएका छन् । यसको अर्थ यो कम्पनीको आइपीओ सोमबारसम्म १.३८ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको छ ।

कम्पनीले आइपीओबाट २ अर्ब ६६ करोड रुपैयाँ पूँजी संकलनको उद्देश्य राखेको छ । यसमध्ये १ अर्ब ५३ करोड प्रिमियमको रुपमा रहनेछ भने बाँकी चुक्तापूँजीको रुपमा थपिनेछ । प्रिमियममा जम्मा भएको रकमबाट कम्पनीले भविष्यमा आफ्ना सेयरधनीलाई लाभांश समेत बाँड्नसक्नेछ । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरिरहेको छ ।