काठमाण्डौ ।  धितोपत्र कारोबारको नयाँ राफसाफ चक्र आगामी माघको पहिलो सातादेखि लागू हुने तयारी भएको छ।

नेपाल धितोपत्र बोर्डले गत पुस २४ गते धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्र टीप्लस २ कायम गर्ने निर्णय सीडीएससीले माघको पहिलो सातादेखि लागू गर्ने योजना गरेको सीडीएससीका एक अधिकारीले जानकारी दिए। बोर्डले हालको टीप्लस ३ लाई टीप्लस २ कायम गरी हिजो सोमबार सीडीएससीमा सो विषयमा निर्देशन आएको उल्लेख गर्दै ती अधिकारी नेप्सेको एजीएमको व्यस्तताले राफसाफ चक्रका विषयमा सञ्चालक समितिको बैठक बस्न नसकेको बताउँछन्। ‘आगामी माघ २ गतेदेखि ६ गतेसम्म नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ निष्कासनपछि सम्भवतः टीप्लस २ लागू हुन्छ’, ती अधिकारीले बिजशालासँग भने।

प्रविधिको बढ्दो प्रयोग तथा अन्तर्राष्टिय अभ्यासलाई समेत अनुशरण गर्दै लगानीकर्ताले समेत राफसाफ चक्र घटाई टीप्लस २ कायम गर्न गरेको आग्रहअनुसार नै धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ संशोधन गरी राफसाफ तथा फर्छ्यौट छोटिई २ कार्यदिन कायम भएको हो। 

राफसाफ चक्र छोटिँदा सुरुआती चरणमा ब्रोकरहरुलाई सेटलमेन्टकै लागि फन्ड जुटाउन असहज भए पनि कालान्तरमा तरलतामा वृद्धि भई बजार थप गतिशिल हुने जानकारहरु दाबी गर्छन्।