ठाडो सुरुङमा पाइप जडान गर्ने कार्यले गति नलिँदा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न नहोला कि भन्ने चिन्ता सर्वत्र थियो । सोही चिन्तालाई समाधान गर्दै यही असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु भएको हो । सोही क्रममा मङ्गलबारदेखि माथिल्लो ठाडो सुरुङमा समेत पाइप जडानको काम शुरु भएको छ ।
राष्ट्रियरुपमा नै रणनीतिक प्रभाव पार्ने आयोजनालाई समयमै सम्पन्न गर्ने हुटहुटी नेपाल विद्युत् प्राधिकरण र आयोजनालाई रहेको छ । आर्थिकरुपमा मुलुकलाई ठूलो फाइदा हुने आयोजना सम्पन्न गर्न सरकारले सबै प्रकारको साधन तथा स्रोत उपलब्ध गराएको छ तर जटिल काम गर्दा अनेकौ समस्या देखिनु पनि स्वभाविक नै छ र हुन्छ पनि । माथिल्लो तामाकोशी आयोजनामा पनि त्यस्तै भयो । आयोजनाले ठाडो सुरुङमा पाइप जडान गर्ने कार्य शुरु ग¥यो तर धोका दियो क्रेन र डोरीले ।
आगामी चैतसम्म आयोजना सम्पन्न गर्नै पर्ने दबाब एकातिर छ, अर्कोतर्फ उपकरणले समस्या खडा गरिदिन्छ । पाँच मिटर लम्बाइ र ३.६ मिटर व्यासका २७ टन तौल भएको पहिलो पाइप राख्नु सामान्य विषय पक्कै होइन । सामान्य कमजोरी हुँदासमेत कामदारको ज्यानसमेत जान सक्छ ।
आयोजनाले सुझबुझपूर्ण निर्णय गरेर, सबै सामग्री जम्मा पारेर सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडानको काम धमाधम अगाडि बढेको छ । यही असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको हो । सोही क्रममा हिजो मङ्गलबारदेखि माथिल्लो सुरुङमा समेत पाइप जडानको काम शुरु भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
आयोजनाको जटिल मानिएको दुईवटा ठूला सुरुङमा स्टिलका ठूला पाइप राख्नु रहेको छ । आयोजनाका अनुसार पहिलो ठाडो सुरुङ ३१० मिटर लामो छ भने दोस्रो ३७२ मिटर लामो छ । “मङ्गलबारदेखि माथिल्लो ठाडो सुरुङमा समेत पाइप जडानको काम शुरु भएको छ । यसले आयोजनाको सबैभन्दा जटिल मानिएको काम अब सम्पन्न हुने दिशामा अगाडि बढेको छ”, प्रवक्ता न्यौपानेले भन्नुभयो ।
भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्बे इञ्जिनीयरिङले ३१० मिटर लामो ठाडो सुरुङमा दुई दशमलव पाँच मिटर लम्बाइ तथा नौ टन क्षमता भएको पहिलो पाइप सफलतापूर्वक जडान गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । कूल ३५ टन क्षमता भएको विशेष प्रकारको डोरीको सहायताले पाइप जडान शुरु भएको हो ।
आयोजना प्रमुख दिनेशजंग राणालगायतको उपस्थितिमा करीब दुई घण्टा लगाएर जडान गरिएको हो । स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो ठाडो सुरुङमा यसअघि नै पेनस्टक पाइप जडान शुरु भएको छ ।
पाइप जडान भएपछि त्यसलाई मिलाउने र ढलान गरिनेछ । त्यसपछि अर्को पाइप जडान हुनेछ । पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्योल हटेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।
पेनस्टक पाइप जडान असाध्यै गाह्रो थियो । यसअघि जडान शुरु गर्दा क्रेनको डोरी नै चुँडिएको थियो । “त्यसपछि क्रेनले काम गर्ने÷नगर्नेलगायतका अन्योल र अनिश्चितता थियो, अब पहिलो पाइप सफलतापूर्व राखिएपछि सबै अन्योल हट्दै आयोजना सम्पन्न हुनेतर्फ काम बढेको छ”, उहाँले भन्नुभयो ।
आयोजनाको पहिलो युनिटबाट आगामी पुसभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । मन्त्रालयले दिएको स्वीकृतिअनुसार आयोजना आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
पछिल्लो व्यवस्थाअनुसार क्रेनले लगातार पाइप झार्ने हुँदा अब कामले गति लिने विश्वास लिइएको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रो–मेकानिकल ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।
माथिल्लो तामाकोशी, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकाले नै गरिरहेको छ ।