काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा स्थानीयका लागि आवेदन दिने म्याद थप गरिएको छ भने वैदेशिक रोजगारीमा रहेकाले आज साउन १८ गते भर्ने अन्तिम दिन रहेको छ।
यो आईपीओमा अब स्थानीय भदौ १ गतेसम्म आवेदन दिन पाउनेछन्। विदेशमा रहेका श्रमिकले भने आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।
गत साउन ४ गतेदेखि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको थियो।
कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो। जसअनुसार १०० अंकित दरका कुल १० लाख कित्ता सेयर स्थानीयका लागि बिक्री खुला गरिएको छ।
स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अतिप्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दालाई बिक्री खुला गरिएको छ। २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीयका लागि बिक्री खुला गरिएको छ। यी क्षेत्रबाहेकका रसुवाका अन्य क्षेत्रका स्थानीयका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर निष्कासन गरिएको छ।
यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गरिने १५ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ।
यो आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
यो आईपीओमा स्थानीयले सानिमा क्यापिटल, आयोजनास्थलस्थित कार्यालय र सानिमा बैंकको विदूर शाखा, किस्पाङ शाखा र धुन्चे शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिप्राप्त सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत सेयर आवेदन दिन सक्नेछन्।
माथिल्लो मैलुङ खोलाको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago