काठमाण्डौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाण्डौको गौशालामा निःशुल्क कोभिड आइसोलेसन केन्द्रको शुभारम्भ गरेका छन्। 
मारवाडी सेवा समितिले काठमाण्डौको गौशालामा सुरु गरेको आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेका हुन्। मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शैयाको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराए। 

उपप्रधानमन्त्री पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र सञ्चालन गरेर सुन्दर दृष्टान्त प्रस्तुत गरेको भन्दै मारवाडी सेवा समितिको प्रशंसा गरे। ‘कोभिडविरुद्धको लडाइँ हामी सबैले मिलेर लड्ने लडाइँ हो । यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नुहुँदैन, सरकारले अभिभाकको भूमिका खेल्छ तर यो लडाइँको मोर्चामा हामी सबै एकठाउँमा उभिएर लड्नुपर्छ’, उनले भने। 
मन्त्री पोखरेलले ३०० शय्यासम्म सञ्चालन गर्न सकिने यस आइसोसलेन केन्द्रलाई पूर्ण रुपमा सञ्चालन गर्न सीसीएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए। एक वर्षअघि कोभिडको पहिलो लहर चलेको बेला नेपालमा कोभिड परीक्षण गर्ने प्रयोगशाला नभएर विदेश पठाउन परेको अबस्था स्मरण गर्दै पोखरेलले भने, ‘अहिले देशका ८६ ठाउँमा कोभिड ल्याब स्थापना गरेका छौँ, केन्द्रदेखि स्थानीय तहसम्म कोभिडको उपचार गर्ने अस्पताल स्थापना गरेका छौँ । दोस्रो लहरमा अक्सिजनको जोडजामका कारण समस्या भएको छ । ठूला अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा हाहाकार सिर्जना भएको हो । हामी यो अभावलाई जति सक्दो चाँडो पूरा गर्न चाहन्छौँ ।’ 

सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न मन्त्रिपरिषदबाट निर्णय गरी प्रारम्भ र पहल थालिएको जानकारी दिए। 

पोखरेलले कोरोनाविरुद्धको खोप खरिदका लागि पनि औपचारिक प्रक्रिया प्रारम्भ गरेको जानकारी दिए। सातवटै प्रदेशमा सात वटा र काठमाण्डौमा एउटा गरी एक हजार क्षमताका आठ वटा होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुटाइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण सुरु गर्ने उनले बताए।