काठमाण्डौ । बजेटको मध्यावधि समीक्षापछि सरकारको पूँजीगत खर्चले गति लिने र बजारको समस्या समेत सम्बोधित हुने आशामा लगानीकर्ताले खरिदारी बढाएपछि नेप्से परिसूचमा उछाल आउने अवस्था देखिएको छ । 

बुधबार बजार खुलेको डेढ घण्टाको अवधिमा नेप्से परिसूचक १८.२७ अंकले बढेको हो । परिसूचकको तुलनामा कारोबार रकममा चाहि खासै बढोत्तरी भएको छैन । यसको अर्थ बजारमा सेयर बिक्री गर्नेहरु रोकिएका र बजार घटेको बेला सेयर खरीद गर्नेहरुको सक्रियता ह्वात्तै बढेको देख्न सकिन्छ । 

बजार घटेर वर्षकै न्यून विन्दूमा झरेपछि सस्तो मूल्यमै राम्रा कम्पनीको सेयर किन्न पाइने भएपछि निस्क्रिय बसेका लगानीकर्ता समेत एकाएक सक्रिय बन्दा बजारमा हरियाली छाएको हो । 

पहिलो डेढघण्टाको अवधिमा सबै समूहको सूचमा हरियाली छाएको छ । होटल, जलविद्युत र माइक्रोफाइनान्स समूह अरुभन्दा तीव्र गतिमा बढिरहेका छन् । बैकिंग र बिमा समूहको बढोत्तरी समेत उत्साहजनक छ । 

सरकारले चालुु आर्थिक वर्षको बजेटको आज अपरान्ह ४ बजे मध्यावधि समीक्षा सार्वजनिक गर्दैछ । समीक्षापछि श्वेतपत्र जारी गरी पूँजीगत खर्चको गति बढाउने, बजारमा देखिएको तरलताको चरम अभावको समस्यालाई सम्बोधन गर्ने र सेयर बजारका अन्य समस्यालाई सम्बोधन गर्ने सरकारी तयारी छ । यही खबरका कारण समेत लगानीकर्ता सेयर खरीद गर्न हौसिएका हुन् । एकातिर सरकारले राम्रो नीति ल्याउने आशा लगानीकर्तामा सञ्चार भएको देखिन्छ भने यही अवस्थामा सेयरको भाउ घटेका कारण राम्रा कम्पनीको सेयर सस्तोमै उठाउन उनीहरु लागिपरेका देखिएको छ । 

कतिपय लगानीकर्ताहरुले सेयर बजारको लगानीलाई अनुत्पादक भन्ने अर्थमन्त्री डा. खतिवडाले मध्यावधि समीक्षामार्फत आफ्नो बोली सुधार गरी केही आशावादी सम्बोधन गर्ने विश्वास समेत देखिएको छ ।