काठमाण्डौ । स्थानीय तहको निर्वाचनको महौल तातेसँगै सेयर बजारको गतिलो बाउन्सब्याक भएको छ। 

निर्वाचनको सुनिश्चिततासँगै सेयर बजारमा आज चमक देखिएको छ। आजदेखि स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढेको छ। 

कारोबार खुलेको तेस्रो घन्टासम्म नेप्से परिसूचक ६६.१५ अंकले उकालो लागेर २३९१.१५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १३.२८ अंकले बढेर ४५६.४२ को विन्दुमा पुगेको छ। अहिलेसम्म २३२ कम्पनीका ३५ लाख ८६ हजार ९७९ कित्ता सेयर १ अर्ब ४७ करोड ९२ लाख ४७ हजार ७३८ रुपैयाँमा किनबेच भएका छन्।

यो बेलासम्म नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा हरियाली छाएको छ। वित्त समूह सर्वाधिक ६.८७ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह पनि झन्डै ५ प्रतिशतले बढेको छ। 

अहिलेसम्म सर्वाधिक कारोबार गर्नेमा शिवम सिमेन्ट र अरुण भ्याली हाइड्रोपावर रहेका छन्। यी कम्पनीको साढे ६ करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ। 

कारोबारको तेस्रो घन्टासम्म ७ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। घलेम्दी हाइड्रोपावरको सेयरभाउ १० प्रतिशतले बढ्दा जाल्पा सामुदायिक लघुवित्त, ग्रीन भेन्चर्स, बेस्ट फाइनानस, श्री इन्भेस्टमेन्ट, जानकी फाइनान्स र सप्तकोशी डेलभपमेन्ट बैंकको सेयरभाउ १० प्रतिशतको हाराहारीमा बढेको छ। 

त्यस्तै सर्वाधिक गुमाउने नेष्डो समृद्ध लघुवित्त छ। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।