काठमाण्डौ । लामो समयदेखिको अन्यौललाई चिर्दै नेपाल राष्ट्रबैंकले धितोपत्र दलाल व्यवसायीहरुलाई मार्जिन कारोबार सेवा सुरु गर्न बाटो खोलिदिएको छ । 

बिहीबार एक सर्कुलर जारी गर्दै नेपाल स्टक एक्सचेञ्ज लिमीटेडको सिफारिसमा केन्द्रीय बैंकले धितोपत्र दलाल व्यवसायी(सेयर ब्रोकर)हरुलाई मार्जिन कारोबारको स्वीकृति दिने व्यवस्था लागू गरिएको छ । 

ब्रोकरहरुले मार्जिन ट्रेडिङ सम्बन्धी कारोबार प्रचलित कानूनी व्यवस्थाको अधिनमा रही नेपाल धितोपत्र बोर्डको नीति निर्देशन अनुरुप गर्नुपर्ने पनि केन्द्रीय बैंकले प्रष्ट पारेको छ । 

राष्ट्र बैंक ऐन ०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७५ को वुँदा १६ को उपबुँदा (क)को खण्ड ७ लाई संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरिएको प्रष्ट्याएको छ । 

राष्ट्रबैंक ऐन(२०५८ को दफा ७६ मा निक्षेप लिन वा कर्जा दिन राष्ट्र बैंकको स्वीकृतिलाई अनिवार्य गरिएको छ । यही प्रावधानका कारण ब्रोकरलाई मार्जिन कारोबारको सुविधा दिने विषयमा गाँठो परेको थियो । केन्द्रीय बैंकले एकीकृत निर्देशनलाई संसोधनसँगै सो गाँठो फुकाइदिएपछि अब नेप्सेले मार्जिन कारोबारका लागि आवश्यक मापदण्डहरु पूरा गर्ने ब्रोकरहरुलाई सिफारिस गर्न सक्नेछ ।