काठमाण्डौ । वास्तविक कारोबार मूल्यलाई लुुकाएर कर छल्ने प्रवृति नेपालका मालपोत कार्यालयहरुमा धेरै देख्न पाइन्छ । चलनचल्तीको मूल्य निकै माथि हुन्छ, तर मालपोतमा जग्गा किनबेच हुँदा न्यून सरकारी रेट अनुसारको मात्रै राजश्व तिरिन्छ । किन्ने, बेच्ने र मालपोतकै कर्मचारीलाई समेत यो यथार्थ थाहा हुन्छ, तर सबै तै चूप मै चूप । मालपोतको यस्तै रोग सेयर बजारमा पनि सरेको छ । विशेष गरी संस्थापक सेयरको किनबेचमा यस्तै चलखेल भइरहेको र संस्थापक सेयरधनीहरुले करोडौं रुपैयाँ बराबरको लाभकर छली गरिरहेका समाचार स्रोतहरुले दाबी गरेका छन् । 

साताको अन्तिम कारोबार दिन बिहीबार मात्रै धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ३ वटा कम्पनीको संस्थापक सेयरले ठाउँ लिए । बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडको ७ करोड १२ लाख बढीको संस्थापक सेयर किनबेच भयो भने शिखर इन्स्योरेन्सको २ करोड १४ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ३३ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यसरी दुुईवटा वाणिज्य बैंक र एउटा बिमा कम्पनीले मात्र बिहीबार साढे १० करोड बराबरको संस्थापक सेयरको कारोबार गरे । यसको अर्थ यो दिन मात्रै साढे १० करोड बराबरको संस्थापक सेयर किनबेच भयो । यो क्रम पछिल्लो समय निकै बढिरहेको छ । १९ सय अंक नजिकको बजार घटेर १३ सयमा आएको बेला संस्थापक सेयरको कारोबार किन बढिरहेको होला ? 

बिजशालाले खोज्दै जाँदा बजार घटेको बेला संस्थापक सेयरको कारोबार बढ्नुुमा एउटा ठूला कारण लाभकर छली रहेको देखिएको छ । 

पछिल्लो समय नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थामा साबिकमा रहेको ७० : ३० को संस्थापक–साधारण सेयरधनीको स्वामित्व अनुपात रुपान्तरण गरी ५१ : ४९ मा झार्नुपर्ने व्यवस्था गरेको छ । यही व्यवस्थाका कारण धेरै संस्थापक सेयर प्रक्रिया पुर्याएर बिक्री गरिँदैछ । तर, यसमा कर छलीको निकै ठूलो चलखेल भइरहेको सूत्र बताउँछ । 

कसरी हुन्छ कर छली ?
केन्द्रीय बैंकबाट यो व्यवस्था भएको महिनौ भयो । ‘यही कारण बजार बढेको बेला बिक्री गर्ने र खरीद गर्ने पक्षबीच त्यही दररेट अनुसार डिल भइसकेको हुन्छ ।’ स्रोतले भन्यो–‘त्यस्तो सेयरको बिक्री(औपचारिकता) बजार घटेको बेला गर्ने भन्ने क्रेता र बिक्रेताबीच सहमति हुन्छ, कारण यस्तो बेलामा बिक्री गर्दा लाभकर कम तिर्नुपर्छ ।’ बजार घटेर सम्बन्धित कम्पनीको मूल्य समेत घटेको बेला ठूलो संख्यामा संस्थापक सेयर बिक्री गर्नुपर्दा त्यसको कुल कारोबारका लागि तिर्नुपर्ने लाभकर पनि कम हुन्छ । बजार बढेको बेला बिक्री गर्दा कुल कारोबार पनि माथि जाने र यसले तिर्नुपर्ने लाभकरको आकार पनि निकै ठूलो बनाइदिने अनुुभवी ब्रोकरहरुले बताएका छन् । बाठा संस्थापक सेयरले मूल्य घटेको बेला संस्थापक सेयर केही महिनाअघि नै खरीदबिक्रीको डिल भइसकेकाहरुलाई बिक्री गर्छन । ‘यसो गर्दा करमा मात्र होइन, ब्रोकर कमिसन पनि कम दिनुपर्छ, उनीहरुलाई फाइदै फाइदा हुन्छ ।’ ती ब्रोकरले बिजशालासँग भने–‘मिलाएर लाभकरको ठूलो खेल सेयर बजारमा भइरहेको छ ।’ 

नियम अनुसार आफूसँग भएको संस्थापक सेयर कसैले बिक्री गर्नुपरेमा सम्बन्धित कम्पनीकै कुनै अरु संस्थापक सेयरले किन्न चाहेमा उनीहरुका लागि भनेर सुरुमा ३५ दिने सूचना निकाल्नुपर्छ । कम्पनीका अन्य संस्थापक सेयरधनीले बिक्री हुन लागेको अर्को सेयरधनीको संस्थापक सेयर किन्ने इच्छा देखाएनन् भने मात्र नयाँ संस्थापक सेयरको लम्बेतान प्रक्रिया सुरु हुन्छ । आफ्नै कम्पनीका अन्य संस्थापक सेयर वा लम्बेतान प्रक्रिया पूरा गरी नयाँ संस्थापक बन्न इच्छुकहरुलाई पुराना संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्री गर्दा समेत यस्तो खेल हुने गरेको सूत्रहरु बताउँछन् । वास्तविक कारोबार भन्दा मूल्य कम भएको बेला हुने गरेको यस्तो कारोबारको बिषयमा नियामकले चासो दिनुपर्नेमा कतिपयले जोड दिएका छन् । 

अन्य कारण के होलान ?
पछिल्लो समय सेयर बजारमा संस्थापक सेयरको कारोबार बढ्नुु पछाडि अन्य कारण समेत छन् । सेयर बजार विश्लेषकहरुका अनुसार राष्ट्रबैंकको नीति अनुसार संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व संरचना ५१ : ४९ मा रुपान्तरण गर्नुपर्ने बाध्यकारी अवस्थाले समेत संस्थापक सेयरको बिक्री बढिरहेको छ । 

अर्कोतर्फ, कतिपय संस्थापकहरुले आफूसँग तोकिएभन्दा बढी भएको सेयर साधारण सेयरमा कन्भर्जन गर्ने जुक्ति पनि लगाइरहेका छन् । यसबाट आफूसँग बढी भएको संस्थापक सेयरलाई अर्डिनरी(साधारण) सेयरमा रुपान्तरण गर्ने र साधारण सेयर संस्थापकको भन्दा सहज कारोबार हुने हुँदा कतिपयले यो दाउ पनि हेरिरहेको दाबी गरिएको छ । यस्तै, कतिपय कम्पनीहरुको संस्थापक सेयरहरुको धमाधम बिक्री हुनुपछाडिको कारण हकप्रद र बोनस समेत रहेको छ । क्लोजिङअघि नै यस्ता सेयर किन्नेको नाममा नामसारी गरे सम्बन्धित कम्पनीले दिने बोनस र हकप्रद समेत उसैको हुने हुँदा यो कारणले समेत संस्थापक सेयरको कारोबार केही बढेको स्रोत बताउँछ ।