काठमाण्डौ । मास्कबिना सार्वजनिक यातायातका साधनमा चढ्ने यात्रुहरुबाट बस चालक तथा सहचालकले रु. १० लिएर मास्क उपलब्ध गराउने नियम काठमाण्डौमा लागू भएको छ । 

गृह मन्त्रालयको निर्देशनपछि काठमाण्डौ उपत्यकामा लागू हुने मापदण्ड सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो निर्देशन दिएको हो । 

सार्वजनिक यातायातका साधनले सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, मास्क अनिवार्य गर्नुपर्ने, भरसक मास्क नलगाएकालाई गाडीमा चढाउन नपाए र कोही चढिहाले ऊबाट रु. १० असूलेर गाडी चालक र सहचालकले नै मास्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको हो । 

कार्यालय र पसलजस्ता सार्वजनिक स्थानमा समेत मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । तर, यस्ता स्थानहरुमा कुनै व्यक्तिले मास्क नलगाई आएमा ऊबाट रु. १० असूलेर व्यवस्थापकले मास्क उपलब्ध गराउनुपर्ने निर्देशनमा उल्लेख छ । 

यस्तै, जिल्ला प्रशासन कार्यालयले घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न समेत अपील गरेको छ । प्रयोग गरिसकेको मास्क जथाभावी नफाल्न, त्यस्ता मास्क एउटा प्लाष्टिकको झोलामा बन्द गरी राख्न र ५ दिनपछि मात्र डिस्पोज गर्न समेत भनिएको छ । 

पीसीआर परीक्षणका लागि स्वाब दिनेहरुले रिपोर्ट नआएसम्म घरमै बस्न, हिँडडूल नगर्न, कोही कसैलाई नभेट्न पनि आदेश दिइएको छ ।

काठमाण्डौ प्रशासनले जारी गरेको १४ बुँदे आदेशका अन्य विषय हिजो सरकारले जारी गरेको ३० बुँदे मापदण्डसँग सम्बन्धित रहेका छन् ।