काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकको ४३ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। 

आज बैंकले एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनी विराज ठक्करको नाममा रहेको ४३ हजार १२३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जानकारी दिएको हो। बिक्रीमा राखिएको सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। 

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सुनसरीको धरान–१२ महेन्द्रपथस्थित बैंकको केन्द्रीय कार्यालय वा सेयर रजिस्ट्रार प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्। 

तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीले खरिद आवेदन नदिएको खण्डमा उक्त सेयर सर्वसाधारण तथा संघसंस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।