काठमाण्डौ । दोश्रो बजारमा ९०० रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडको सेयर प्रतिकित्ता १०० मै पाउने चाहना छ ? छ भने तपाईले आजै यो कम्पनीको सेयर खरीद गर्नुपर्नेछ । 

किनभने यो कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्दैछ र त्यसका लागि माघ १ गते बुक क्लोजको मिति तोकेको छ । 

कम्पनीले पुस १३ गते धितोपत्र बोर्डले हकप्रद निश्कासनको अनुमति दिएको थियो । 

यसको अर्थ कम्पनीको ५० प्रतिशत हकप्रद भर्न योग्य बन्न आज(सोमबार)भित्र यो कम्पनीको सेयर खरीद गरिसक्नुपर्नेछ । 

मिथिला लघुवित्तले हाल कायम चुक्तापूँजीको ५० प्रतिशतले हुन आउने ३ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ८९० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल लिमीटेड रहेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १०.४५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ।

हकप्रद र बोनसपछि मिथिलाको चुक्तापूँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँ पुग्नेछ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ३५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।