काठमाण्डौ । आज(सोमबार) कारोबार भएका जलविद्युत कम्पनीहरुमध्ये बाराही जलविद्युत कम्पनीको सेयरमूल्यमा तीब्र चलखेल देखिएको छ । त्यसो त दोस्रो बजारमा हाइड्रोको सेयरमा चलखेल हुनु उति नौलो विषय चाहिँ होइन । 

आज दिनभरको कारोबारमा ६६७  रुपियाँसम्म पुगेको यो कम्पनीको  सेयर अन्तिम समयमा ब्रोकर नम्बर ५८ बाट १० कित्ता ६१० रुपैयाँमा सेयर बेचेर मूल्य घटाइएको एक लगानीकर्ताले आरोप लगाए । 

ती लगानीकर्ताकाअनुसार दिनभर बढेको कम्पनीमा एकैपटक १० कित्ता राखेर केही सेकेण्डमै मूल्य ५७ रुपैयाँले घटाइएको छ । यो मार्केट अप्सनको सुविधा दुरुपयोग गरेर सम्भव भएको ती लगानीकर्ताको भनाई छ । 

ती लगानीकर्ताले आफूले सेयर बेचिसकेपछि पुनः ६१० मा यो ब्रोकरबाट सेयर झारिएको पनि आरोप लगाए । यो कम्पनीको सेयरमा ब्रोकर नम्बर ४९ र ५८ बाट उच्च कारोबार भएको देखिएको छ । यसरी बजारमा खुलेआम चलखेल हुँदा पनि नियामक निकायले भने नदेखेको तथा बजारको चलखेललाई कुनै वास्ता नगरिएको ती लगानीकर्ता आरोप लगाउँछन् ।  

ब्रोकर नम्बर ५८ ले मार्केटमा उपलब्ध यस्ता अप्सनको दुरुपयोग गरी यसअघि पनि केही कम्पनीमा यस्तै फण्डा गरेको थियो । तर, सो विषयमा नियामकहरुबाट छानबिन नहुँदा पटक पटक सोझालाई बेवकुफ बनाएर फसाउने काम मात्र भइरहेको ती लगानीकर्ता दाबी गर्छन् ।