– अर्जुन तिमिल्सिना

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक नेपालका विकास बैंकहरुमध्ये अब्बल मानिन्छ। ग्रामीण बस्तीलाई आधार बनाएर सन् २००७ मा स्याङ्जाको पुतलीबजारमा प्रधान कार्यालाय राखेर यो बैंकको स्थापना भएको थियो। स्थापनाकालमा स्याङ्जा, कास्की र तनहुँ जिल्लालाई कार्यक्षेत्र बनाएको यो बैंकको त्यतिबेला जम्मा १ करोड ३० लाख रुपैयाँमात्रै पुँजी थियो। हाल यो बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ। 

मुक्तिनाथका १६० शाखा छन्। जसमा उपत्यकामा ३३ वटा छन्। बाँकी शाखा भने माइक्रोफाइनान्स सेवा प्रवाह गर्न ग्रामीण भेगमा आधार बनाएर चलेका छन्। 

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो बैंकले ५९.६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४८.२६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ। ४ अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी रहेको यो बैंकको आफ्नै क्यापिटल, रेमिट्यान्स तथा मुक्तिनाथ कृषि योजना पनि सञ्चालनमा रहेको छ। 

बैंकको हालको प्रतिसेयर आम्दानी २७.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८.४३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९४८.७७  रुपैयाँ रहेको छ। जगेडा कोषमा १ अर्ब १ करोड रुपैयाँ तथा रिटेन अर्निङमा ८३  करोड ५८ लाख रुपैयाँभन्दा बढी रहेको छ। 

खराब कर्जा ०.२१ प्रतिशतमा सीमित गर्न सफल मुक्तनाथ विकास बैंकको ९ वर्षको औसत लाभांश दर २९ प्रतिशत रहेको छ। बैंकले हालसम्म ४ पटक २०  प्रतिशत, ४० प्रतिशत, ५० प्रतिशत र २५ प्रतिशत हकप्रद पनि जारी गरिसकेको छ। 

बैंकको मुख्य आम्दानी बैंकिङ सेवागगायत ग्रामीण भेगमा माइक्रोफाइनान्स सेवा रहेको देखिन्छ। बैंकका अध्यक्ष भरत ढकालले हरेक वर्ष व्यवसाय बढाउँदै गएकोले बैंकले डिबेन्चर, बोनस तथा हकप्रदबाट अझै पुँजी बढाउनु आवश्यक रहेको बताए। यो वर्ष पनि कम्तीमा २० प्रतिशतले पुँजी बढाउने योजना बैंकको छ। 

यो बैंकले मुक्तिनाथ कृषि योजनामा २५ प्रतिशत लगानी गरेर आफ्ना ग्राहकलाई गैरवित्तीय सेवाअन्तर्गत कृषि योजना तथा सामग्री पनि दिन्छ। अध्यक्ष ढकालका अनुसार अबको ५ वर्षमा यो कृषि योजनाअन्तर्गत देशको समस्या पहिचान गरेर बैंकले जस्तै कृषि परियोजनाले पनि राम्रो नतिजा दिनेछ। 

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। 

यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छ। 

मुक्तिनाथ विकास बैंकले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा हाल माइनर डिग्रीको वेभ ३ चलेको देखिन्छ। जसलाई फिवोनासीमा जोडेर हेर्दा १.६१ प्रतिशतको वृद्धिमा सेयरभाउ ८५४ रुपैयाँसम्म पुग्ने देखिन्छ भने वेभ ४ बन्दा सामान्य करेक्सनमा ८०० रुपैयाँसम्म झर्न सक्ने देखिन्छ। त्यसपछि माइनर डिग्रीकै वेभ ५ तथा फिवोनासीको २.६१ को वृद्धि भएर यो बैंकको सेयरभाउ १०३० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो बैंकको भाउ घटेमा ०.२३ प्रतिशतको टेवा ७३१ रुपैयाँमा, ०.३८ प्रतिशतको टेवा ७०० रुपैयाँमा, ०.५ प्रतिशतको टेवा ६७५ रुपैयाँ तथा ०.६१ प्रतिशतको टेवा ६५५ रुपैयाँसम्म हुन सक्ने देखिन्छ। 

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत १० अगस्टमा  एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस सिग्नल भर्खरै बनेको छ र हिस्टोग्राम पोजेटिभ भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरमूल्य वृद्धि हुन सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो बैंकको मूल्य रेखाले माथिल्लो ब्यान्डलाई छोएको छ र हरियो मारुबुजु क्यान्डल बनेको छ। यसले सेयरमूल्यमा उच्च माग आएको बुझिन्छ। अन्तिम कारोबारले हरियो लामो मारुबुजु बनाएकोले केही समय खरिदको सम्भावना देखिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो बैंकको हालको आरएसआई ७७ रहेको छ। अघिल्लोपटक यो न्यून विन्दु ४९ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्च विन्दु ८८.२९ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरमूल्य बुलिस सिग्नल देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाब निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ७९३
  • प्रतिराध २– ८१२
  • प्रतिराध ३– ८६३

पिभट पेइन्ट : ७६१

घटेमा सर्पोट 

  • सपोर्ट १– ७४२ 
  • सर्पोट २– ७१०
  • सर्पोट ३– ६५९

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वीकार गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।