काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि १० प्रतिशत थप गरेर २० प्रतिशत आईपीओ जारी गर्ने भएको छ। यसअघि कम्पनीले सर्वसाधारणलाई चुक्तापुँजीको १० प्रतिशतमात्रै आईपीओ बिक्री गर्ने तयारी गरेको थियो। 

मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकाल यसअघि १० प्रतिशतमात्रै सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने योजना रहेकोमा अब बढाएर २० प्रतिशत जारी गर्न लागिएको जानकारी दिएका हुन्। ‘कृषि कम्पनीहरुमध्ये आईपीओ जारी गर्ने हाम्रो पहिलो कम्पनी हुनेछ’, बिजशालासँगको कुराकानीमा उनले भने, ‘चालु आर्थिक वर्षभित्रै आईपीओ जारी गर्नेछौँ।’

ढकालअनुसार कम्पनीको चुक्तापुँजीको २० प्रतिशत अर्थात १४ लाख कित्ता आईपीओ बिक्री खुला गरिनेछ। 

यो कम्पनीले किसान र उपभोक्ताबीच मध्यस्थकर्ताको काम गर्ने अधयक्ष ढकालले बताए। ‘कम्पनीले कृषि उत्पादनदेखि वितरणसम्मको काम गर्नेछ’, उनले भने, ‘अत्याधुनिक कृषि प्रविधिको विकास गर्ने कम्पनीको लक्ष्य रहेको छ।’

ढकालका अनुसार यो कम्पनीले किसानले उत्पादन गरेका उपजको बाई ब्याक ग्यारेन्टी गर्नेछ। ‘कृषि उपज उत्पादन गरेर अन्तर्राष्ट्रियस्तरमा पुर्याएर यो कम्पनीलाई पायोनियर कम्पनी बनाइनेछ’, उनले भने। 

कम्पनी लक्ष्य भनेको भविष्यमा कृषि विश्वविद्यालय खोल्नेसम्मको रहेको ढकालले सुनाए। ‘अहिले आयतमुखी अर्थतन्त्र भएको देशलाई कृषिमा आत्मनिर्भर बनाउने र डलर भित्र्याउने कम्पनीको मुख्य उद्देश्य रहेको छ’, उनले भने।