काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आउँदो कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा १४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ कलाख ४० हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ। 

यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतममा १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 

यो आईपीओको निष्कासन बन्द आउँदो कात्तिक २४ गते बैंकिङ समयपछि हुनेछ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ। 

यो आईपीओको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।