काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीसँग खुमलटारस्थित निवासमा बुधबार भएको भेटबार्तामा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताएका हुन्। ‘मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। ब्याजदर वृद्धि, तरलता समस्या लगायतका विषयमा सरकार जानकार छ। अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पुर्ण ध्यान केन्द्रित भएको छ’, उनले भने।
रुस–युक्रेन युद्ध र कोभिड १९ का कारणले विश्वव्यापी रुपमै अर्थतन्त्रमा जोखिमको अवस्था सिर्जना भएको प्रधानमन्त्री दाहालको भनाइ छ। वर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिबद्ध रहेकोसमेत प्रधानमन्त्री दाहालले बताए। उनले भने, ‘सामूहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको संकटलाई जोगाउने दायित्व सबैको हो। सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ।’
प्रधानमन्त्री दाहालसंगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले विद्यमान आर्थिक अवस्थाबारे ध्यानाकर्षण गराए। नवनियुक्त प्रधानमन्त्री दाहाललाई चेम्बरले ८ बुँदे सुझावसमेत दिएको छ।
बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवं तरलता अभावका कारण लगानीको वातवरण बन्न नसकेको अध्यक्ष मल्लले बताए। ‘दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्नका लागि एकल अंकको ब्याजदर कायम गरिनुपर्दछ’, उनले भने, ‘दिगो आर्थिक विकास र स्थायित्वका लागि लगानीको वातावरण बन्न आवश्यक छ।’
मुलुकको पुँजीगत खर्च समयमै हुन नसक्दा पनि अर्थतन्त्रले लय समाउन नसकेको अध्यक्ष मल्लले बताए।
बाँझो जमिनलाई सदुपयोग गरी कृषि उत्पादनमा आधुनीकीकरणमार्फत मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने मल्लले बताए। कृषि कर्जा, खेत किन्नेलाई नभई खेती गर्नेले पाउनुुपर्ने व्यवस्था मिलाउन पनि मल्लले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए।
स्वदेशमा रहेका प्राकृतिक स्रोत र साधनको प्रवर्द्धन गरी निर्यात वृृद्धि गर्नसमेत अध्यक्ष मल्लले आग्रह गरे। उनले सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरेर कर राजश्वको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष मल्लसहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल, उपाध्यक्षहरु सुरेन्द्र श्रेष्ठ, दिपक श्रेष्ठलगायतले नवनियुक्त प्रधानमन्त्री दाहाललाई बधाई एवं शुभकामना दिएका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago