-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल स्टक हाउस प्रालिले वि.सं. २०५० सालमा नेप्सेले  धितोपत्र दलाल व्यवसायी माग गरेका बेला आवेदन दिएर ब्रोकर नम्बर १४ का रुपमा लाइसेन्स पाएको हो, जसको अध्यक्ष हुन् ईश्वरी प्रसाद रिमाल । यो ब्रोकर हाउसको मुख्य कार्यालय काठमाडौ २९ कालिकास्थानमा छ । 

२०५० साल पौष २९ बाट ओपन क्राइ सिस्टमबाट नै ब्रोकर पेशा अङ्गालेका रिमालको पुरानो घर नुवाकोटको तार्केश्वर गाउँपालिका ६ हो भने हाल उनी अनामनगरका बासिन्दा हुन् । उनले एमबीए उत्तीर्ण गरेका छन् ।

स्नातक तहमा अध्ययन गर्दागर्दै विभिन्न व्यवसाय गर्दै पढेका रिमाल २०५९ मा ब्रोकर प्रतिनिधिबाट नेप्सेमा निर्देशक र स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष पदमा समेत रहे  । 

२०५३ सालमा उनको स्टक हाउस कम्पनीमा परिणत भएको थियो । ३ जना प्रमोटर रहेको स्टक हाउसको चुक्तापूँजी ५ करोड ९५ लाख रहेको छ । 

उपत्यका बाहिर पोखराको न्यूरोडमा रहेको शाखासहित रिमालको कम्पनीमा २० जना कर्मचारीहरु कार्यरत छन् ।

टीकापुर, विर्तामोड, नुवाकोट, बालाजु लगायतका ठाउँमा शाखा विस्तारका लागि बोर्डमा आवेदनसमेत दिएको रिमालको भनाइ छ । 

डीपी सेवाका लागि आवेदन गर्नेमध्ये पहिलो ब्रोकर भएको दाबी गरेका रिमालले २०७० सालबाट आफ्नो कम्पानीमार्फत डीपी सेवासमेत दिन थाालेको बताए । 

व्यक्तिगत डिम्याट खाता ८ हजार र संस्थागत डिम्याट खाता १५० रहेको कम्पनीले जनाएको छ । 

रिमालले स्टक हाउसमा दैनिक औसतमा ३० जनाको उपस्थिति रहने गरेको बताउँदै व्यक्तिगत कारोबारी खाता ३९ हजार ६ सय २७ र संस्थागत कारोबारी खाता १ सय भएको सुनाए । 

गत पौष मसान्तसम्म उनको कम्पनीले १ अर्ब ५० करोड रकम बराबरको १७४ कम्पनीका सेयर खरिदबिक्री गरेको थियो । 

नियामकको कार्वाहीमा खासै नपरेको बताएका रिमालले पेनाल्टी तिर्नुनपरेको जवाफ दिए । 

आफूलाई रेपुटेड ब्रोकरको परिचय बनाएको  बताउने रिमालले धितोपत्र दलाल व्यवसायी दलालको नाम परिवर्तन गर्न धेरै संघर्ष गरेको सुनाए । तर अहिले ब्रोकर पेशालाई पायोनियर पेशाका रुपमा हेरिदै आएकोमा आफूलाई गर्व लाग्ने गरेको उनको भनाई छ । रिमालले भने-' गुणस्तरीय सेवा र ईमानदारिता नै १४ नम्बरको बलियो पक्ष हो ।' 

आफ्नै घरजग्गामा संचालित उनको ब्रोकर अफिसमा निर्णय शीघ्र हुने र लामो तथा पुरानो अनुभवले समेत काम गर्न सहज भएको रिमालले बताए । 

बीकम पढ्दापढ्दै मुम्बई घुम्न जाँदा टुरिष्ट प्लेसमध्येको एक मुम्बई स्टक एक्सचेञ्ज घुम्ने मौका समेत पाएका रिमालले घुमेको भोलिपल्ट ७० करोडको कारोबार भएको अखबारमा पढेपछि उनलाई पनि गर्नुपर्ने पेशा रहेछ भन्ने लागेको रहेछ । 

हर्सद मेहता घोटाला  काण्डमा ब्रोकरको शक्ति विचार गर्ने मौका पाउँदा अचम्ममा परेका रिमाललाई नेपालमा स्टक एक्सचेञ्जले लाइसेन्स खुलाए आफू पनि ब्रोकर बन्ने सपना सँगाले, जब त्यो मौका आयो, आफ्नो सपनालाई साकार गर्न कत्ति पनि ढिला गरेनन् । 

ब्रोकर हुन पाएकोमा सन्तुष्ट उनलाई पेशाबाट धेरै खुशी मिलेको सुनाए । 

पोर्ट्फोलियो व्यवस्थापन, म्युचुअल फण्ड, निष्कासन प्रबन्धक, मार्केट डिलर लगायतका क्षेत्रमा समेत आफ्नो ज्ञान र सीप पोख्न पाउनुपर्ने उनको माग छ । 

नेपालजस्तो इमर्जिङ सेयर मार्केटमा अमेरिकी बेसका ब्रोकर वा संस्थाहरुलाइ संस्थागत लगानी (एफडीआई) गर्न पाउनुपर्ने धारणा राख्दै रिमाल भन्छन्-'प्रतिफल सहजै बाहिर लैजान पाए विदेशी लगानी भित्र्याउन हामी पनि प्रयास थाल्नेछौ।'

उनको कम्पनीको कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म रहेको छ । 

धितोपत्र खरिदबिक्री, डीपी सेवा दिदै आएको रिमालको स्टक हाउसले निकट भविष्यमा मार्जिन लेण्डिङ सुविधाको सुरुवात गर्न लागेको सुनाए । 

ब्रोकर नम्बर १४ नै किन ? भन्ने बिजशालाको प्रश्नमा उनी भन्छन्-'पर्सनल टेककेयर बिजनेसमा विशेष ख्याल गर्छौं, राम्रा स्क्रिप्ट खरिदमा उचित सल्लाह र राम्रो मार्गदर्शन गर्ने हुनाले हामीलाई सेवा गर्ने मौका दिनुहोस् ।' 

पहिलो अभिभावक नेप्से भएकाले अझ सशक्त हुनुपर्नेमा जोड दिंदै उनले सबब्रोकर मार्फत पूँजीबजारको पहुँच व्यापक बनाउन सकिने धारणा राख्छन् । 

नेप्से र धितोपत्र बोर्डमा राजनीतिक नियुक्तिका सट्टा सेयर बजार बुझेको व्यक्ति लैजानुपर्ने उनको भनाई छ ।  हाम्रो मान्छे भन्दा पनि राम्रो मान्छे चाहिएकाले राम्रा र बजार बुझेको मान्छे आए मात्र भनेजस्तो विकास  र सुधार हुनसक्ने उनको ठम्याई छ ।

अर्थतन्त्रकै ऐनाका रुपमा हेरिने पूँजीबजारमा बिजनेसले सोर्स  पाउने र सोही सोर्सले आर्थिक गतिविधि चलायमान हुने रिमालको भनाई छ । 

बिदेशी लगानीकर्तालाई झन्झटरहित लगानीका लागि सरकारीस्तरबाटै नीतिगत स्पष्टता, पूँजीको सहज आवतजावतमा सहजीकरण गर्नुपर्ने रिमालले औल्याउँदै कम्पनी संस्थापना लगायतका काममा सहज रूपमा इन्ट्री र एक्जिट हुनुपर्नेमा उनले जोड दिए । 

देशभरका लगानीकर्तालाई शिक्षित बनाउनेतर्फ ध्यान दिनुपर्ने रिमालको सुझाव छ । 

रियल सेक्टर र हाइड्रोपावर सेक्टरमा अबिलम्ब नियामक हुन जरूरी भइसकेको धारणा राख्ने उनले भने,सरकार नीति,निर्देशनमा प्रष्ट भए रियल सेक्टरको पनि ग्रोथ हुन्थ्यो । स्थिर वृद्धिका लागि सम्बद्ध पक्षसँग् छलफल गरेर मात्रै नीतिनिर्माताले नीति निर्देशन दिनुपर्नेमा उनको जोड छ । ब्रोकरहरुले समेत क्षणिक नाम र दाम नहेरी हल्का तरिकाले काम गर्न नहुने उनले सुझाए । 

इमानदारिता सबैले पालना गर्दै ,लगानीकर्ताहरुले समेत हल्लाका पछि नलागी आफैं विश्लेषण गरि लगानी गर्नुपर्ने रिमालको सुझाव छ । 

लगानीकर्ताको आँखामा नेपाल स्टक हाउस प्रा लि 

चेतनाथ लुइँटेल(कानून व्यवसायी) घट्टेकुलो-३६ वर्ष 
प्राथमिक बजारमा १० वर्षदेखि लगानी गरिरहेकामा दोश्रो बजारमा ६ वर्षदेखि सक्रिय छु । यहाँबाट सेवा लिन थालेको ५ वर्ष जति भयो । सजिलो छ, नजिक भएकाले र चिनजानका साथीहरू यहीँ भएकाले  राम्रो लाग्छ ।  सबै सेवासुविधा राम्रै र सहज रुपमा पाएको छु । मेरो सेयरको लगइन र अनलाइन कारोबार प्रणालीको लगइन समेत सहजै पाएकाले विगत लामो समयदेखि यहाँको सेवा लिइरहेको छु । म यो ब्रोकर कम्पनीलाई १० नम्बरमा ९ नम्बर दिन चाहन्छु । 

शशि राना(महिला लगानीकर्ता) बानेश्वर-५० वर्ष 
वि.स. २०६९ सालदेखि सेयर बजारमा प्रवेश गरेको हुँ । सोही समयदेखि नै १४ नम्बरबाटै सेयर खरिदबिक्री गरिरहेकी छु । जे भन्यो, त्यही सुविधा दिनु भएको छ । माग अनुरुपको सेवासुविधा पाएकाले राम्रो छ । अनलाइन लगईन लिइए पनि आफैंमा आत्मविश्वास नभएकाले अनलाइन कारोबार गरेको छैन । मैले १० नम्बरमा ९ नम्बर दिन चाहेँ । 

रेवती पराजुली(महिला लगानीकर्ता) शंखमूल-३६ वर्ष 
प्राथमिक बजारमा विगत १५ वर्षदेखि लगानी गरे पनि ०७१ सालबाट नै १४ नम्बरबाट दोश्रो बजारमा सक्रिय छु । सबै ठीक भएकाले एकदम राम्रो लाग्छ । म १० नम्बरमध्ये ९ नम्बर दिन्छु ।