काठमाण्डौ । मुलुकभर यसवर्ष बिहीबारदेखि मनसुन सक्रिय भएपछि भारी वर्षा सुरु भएको छ । 

बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा कारण मुलुकभर वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसले गर्दा मुलुकभर अधिकांश स्थानमा हल्कादेखि सामान्य वर्षा भई पूर्वी तथा पश्चिमी क्षेत्रका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

सक्रिय मनसुनका कारण शुक्रबार दिनभरि वर्षा हुने र अझै केही दिनसम्म वर्षा जारी रहने महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले राससलाई जानकारी दिएका छन् । 

भारी वर्षासँगै कृषकहरु समयमै रोपाइँ हुने आशाले हर्षित देखिएका छन् रोपाइँ सुरु भएको छ । 

यद्यपि भारी वर्षाले १५ महिनादेखि पाल र अस्थायी टहरामा दिन गुजारीरहेका भूकम्मपीडित जनता भने थप पीडामा पर्नुका साथै पहिरो उच्च जोखिममा परेका छन् । 

सक्रिय मनसुनका कारण मौसमका खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएका छन् । त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने अन्तर्राष्ट्रिय विमान अवतरण गर्न नसकेपछि अन्यत्रै मोडिएको विमानस्थलले जनाएको छ । 

भारी वर्षासँगै मुलुकभर सडक यातायातमा अवरुद्ध हुनुका साथै बाढी पहिरोले सयौँ जनता प्रभावित भएका खबरहरु आइरहेका छन् । 

दिनभर नारायणगढ–मुग्लिन सडक नखुल्ने
गएरातिदेखि निरन्तर भएको वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न चार स्थानमा ठूला पहिरो खसेपछि शुक्रबार दिनभर सडक सञ्चालन नहुने भएको छ । 

सडक खण्डको चार किलो, पाँच किलो, जलवीरे र भालुढुङ्गामा माथिबाट ठूलो पहिरो खसेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए । 

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको उनले जानकारी दिए । ‘पानी परिरहेको छ, माथिबाट पहिरो खसिरहेको छ पन्छाउने सम्भावना छैन । पानी रोकिएमा पहिरो पन्छाउने काम हुनेछ।’ उनले भने । उनका अनुसार अब वर्षात् रोकिएमा राति अबेरसम्ममा बाटो खुल्ने सम्भावना छ । बिहान ६ बजेबाट अवरुद्ध सडक ९ बजे केहीबेरका लागि खुलेको भए पनि पुनः ती ठाउँमा पहिरो खस्न थालेपछि पहिरो पन्छाउन नसकिएको उनले बताए । 

ठाउँठाउँमा पहिरो खसिरहेकाले सुरक्षित ठाउँमा बस्न वा वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्यतर्फ जान आयोजनाले सबैमा आग्रहसमेत गरेको छ । बिहानदेखि सडक अवरुद्ध बनेपछि सडकको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । जोखिममा परेका यात्रु अलपत्र अवस्थामा रहेका छन् । 

पर्खालले थिच्दा दुई विद्यार्थीको मृत्यु, १७ घाइते
ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलनजिकै रहेको पर्खाल भत्किँदा दुईजना विद्यार्थीको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले बताए । 

शुक्रबार बिहान १० बजेर ५० मिनेट जाँदा विद्यालयसँगै रहेको पर्खाल भत्किएर कक्षाभित्र अध्ययन गरिरहेका विद्यार्थीलाई थिचेको थियो । घाइते विद्यार्थीलाई पाटन अस्पताल र बि एन्ड बि अस्पतालमा उपचार गराइरहेको उनले जानकारी दिए । 

घाईतेमध्ये पाँचजना पाटन अस्पताल र १२ जना विद्यार्थीको बि एन्ड बि अस्पतालमा उपचार भइरहेको छ । अविरल वर्षाले विद्यालयसँगै रहेको जग्गा प्लटिङको पर्खाल बगेर आउने क्रममा विद्यालयको टहरा भत्किएर कक्षामा अध्ययनरत विद्यार्थीलाई थिचेको थियो । 

पहिरोले दुई घर पुरिए
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा बैतडीको बैतडीको गोकुलेश्वरमा दुई घर पुरिएका छन् । 

गोकुलेश्वर–१ बागाबगरमा पहिरो जाँदा दुई वटा घर पुरिएका हुन् । पहिरोले धनी भुल र राजु भुलको घर पुरिएको गोकुलेश्वर प्रहरी चौकीका इञ्चार्ज भीमबहादुर मल्लले जानकारी दिए । 

पहिरोले घर पुरिँदा घरमा रहेको अन्नपात, छ वटा बाख्रा, एक हल गोरु र एक गाई पुरिएका छन् । पहिरोले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए । 

यस्तै पहिरोका कारण महाकाली राजमार्ग अवरुद्घ भएको छ । बैतडीको सतवाझदेखि दार्चुलाको गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने गोकुलेश्वर–१ बागाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो । बागाबगरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्ण रुपमा बन्द भएको हो । 

यातायातका साधन पूर्णरुपमा बन्द हुँदा बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दूरीका यातायातका साधन रोकिएका छन् । सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् । 

महाकालीमा पानी बढ्यो
लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव शुक्रबार बिहानबाट बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार केहीबेरअघि गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ८५ हजार क्युसेक नाघेको छ । 

पानीको बहाव बढेपछि सीमावर्ती महाकाली नदीमा रहेको शारदा ब्यारेज (वनबासा पुल)मा चार पांग्रे सवारी साधनलाई बिहान १० बजेदेखि आवागमनमा रोक लगाइएको छ । 

महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले पुलको अवस्था नाजुक रहेका कारण ठूला सवारी साधनलाई रोक लगाउँदै आएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गोकुल बलायरले पुलमा मोटरसाइकल, पैदलयात्रीलाई भने रोक नलगाइएको जानकारी दिए । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी र दार्चुलामा वर्षा भएका कारण पानीको बहाव बढ्दै गइरहेको छ । 

दार्चुलामा दुईको मृत्यु, एक बेपत्ता
अबिरल वर्षाका कारण आएको पहिरोमा पुरिएर शुक्रबार बिहान दार्चुलामा दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शुक्रबार बिहान घरमाथिबाट आएको पहिराले घर पुरिँदा मालिकार्जुन–८ भौतडी मुसेकाँडाकी वसन्ती धामी रहेकी छन् । 

यस्तै, सर्मोली–४ बसौडीका ६० वर्षीय शिवदत्त पन्तको पनि पहिरोले घर पुरिँदा ज्यान गएको छ । घरमा रहेको लत्ताकपडा, अन्नलगायत गाईवस्तुसमेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पानी परिरहेका कारण उद्घारमा समस्या भएको बताइएको छ । 

यसैगरी, अपी नगरपालिका–१७ धापमा पहिरोले घर बगाउँदा प्रेमसिंह महरकी श्रीमती बेपत्ता भएकी र नाम खुल्न नसकेको प्रहरीले बताएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको बताइएको छ । 

उकु गाविसमा रहेको जौलजिवी प्रहरी चौकीमा पहिरो खस्दा प्रहरी चौकी सारिएको छ । बिहीबार राति प्रहरी चौकी भवनमा माथिबाट पहिरो आएपछि प्रहरी चौकी वन रेन्जपोस्ट कार्यालयमा सारिएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

वर्षाले दार्चुलाका विभिन्न क्षेत्रमा पहिरो जानका साथै घर भत्किएका छन् । खरकडा–५ ओडीगाँउ, उकु–२ च्युरानी, उकु–९ पन्तवाली, हुनैनाथ–९ औतालेक, सर्मोली–२, भगवती–४, डाँडाकोट–८ लिमेतीलगायतमा स्थानमा पहिरो गएको प्रारम्भिक खबर आएको प्रहरीले बताएको छ । बिहीबार रातिदेखि परेको मुसलधारे वर्षाले दार्चुला जिल्लाभरिको जनजीवन प्रभावित बनेको छ । 

राससको सहयोगमा