काठमाण्डौ। प्रतिनिधिसभा र प्रदेशसभातर्फ हिमाली जिल्ला मुस्ताङमा नेपाली कांग्रेसले ‘क्लिन स्विप’ गरेको छ। 

एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा सदस्य ‘क’ र ‘ख’ गरी ३ सिटमै विजयी भएको हो। 

प्रतिनिधिसभातर्फ मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्। उनले ३ हजार ९९२ मत पाएका छन्। 

गौचनले निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराएका हुन्। योगेशले ३ हजार ९९२ मत पाएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत र राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाएका छन्।

मुस्ताङको प्रदेशसभा (क) मा कांग्रेसकै नम्डु गुरुङ विजयी भएका छन्। 

गुरुङले निवर्तमान प्रदेशसभा सदस्य एवं एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई पछि पार्दै विजयी भएका हुन्। 

मतपरिणामअनुसार नम्डुले १ हजार ४८ मत प्राप्त गरेका छन्। विष्टले ७९३ मतमात्र पाएका छन्। 

मुस्ताङको प्रदेशसभा (ख) मा पनि कांग्रेसका उम्मेदवार विकल शेरचन विजयी भएका छन्। शेरचनले एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन्।

शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन्।