-भक्तराज रसाइली

काठमाण्डौ । सेयर लगानीकर्ताहरुको दवाब समूहले तालाबन्दीसँगै जाउलाखेलस्थित नेपाल धितोपत्र बोर्डको मूलगेटमा धर्ना थालेको छ । 

बोर्डका अध्यक्ष हरि ढकाल नेतृत्वको समूहले बिहान ९ बजे नै धितोपत्र बोर्डको मूलगेटमा तालाबन्दी गरी धर्ना थालेको हो । 

दवाब समूहले चैत ९ गतेदेखि बजार विकास र बिस्तारका आफ्ना ३२ बुँदे माग पूरा गराउन आन्दोलन थालेको हो । शनिवारदेखि सुरु भएको आन्दोलन अन्तरगत आइतबार धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र कार्यकारी निर्देशक निरज गिरीको घर घेराउ गर्ने कार्यक्रम थियो । 

लगानीकर्ताको पूर्वघोषित कार्यक्रम थाहा पाएपछि धितोपत्र बोर्डको आग्रहमा अध्यक्ष र कार्यकारी निर्देशकको घर अगाडि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएसँगै मुठभूड हुनसक्ने देखेर आफूहरुले कार्यक्रम परिवर्तन गरी तालाबन्दीमा उत्रिनु परेको दवाब समूहका नेताहरुले दाबी गरेका छन् । 

उनीहरुले आफ्ना मागको सुनुवाई नभएपछि बजारको नियामक धितोपत्र बोर्डमा तालाबन्दी गरिएको प्रष्ट पारेका छन् । 

उनीहरुले आफूहरुले प्रस्तुत गरेका ३२ बुँदे माग पूरा हुनुपर्ने र ती मागको विषयमा कुरा नभई ताला नखोलिने र आन्दोलन नरोकिने समेत प्रष्ट पारेका छन् । 

मूलगेटमा लगानीकर्ता, घाम ताप्दै कर्मचारी
यसैबीच, दवाब समूहले मूलगेटमै तालाबन्दी गरेपछि धितोपत्र बोर्डका कर्मचारीहरु घाम तापिरहेका छन् । कार्यकक्षमा प्रवेश गर्न नपाएपछि उनीहरु गफिँदै घाम तापिरहेका हुन् । 

यो समाचार तयार पार्दासम्मा धितोपत्र बोर्ड परिसरमा बोर्डका अध्यक्ष रेवतबहादुर कार्की पुगेका छैनन् । परिष्ठनाथ पौड्याल लगायतका कर्मचारी पुगेका छन् भने त्यहाँ नपुगे पनि निरज गिरीसँग आन्दोलनकारीहरुको टेलिफोन वार्ता भइरहेको देखिएको छ । 

लगानीकर्ताले राखेका ३२ बुँदे माग के के हुन् ? थाहा पाउन यो लिंकमा जानुहोस् ।