काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि ३ कम्पनीको सेयरभाउ समायोजन गरेको छ। 

नेप्सेले गरिमा विकास बैंक, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता गरिमाको ३३०.९७ रुपैयाँ, प्राइम लाइफको ५०३.५४ रुपैयाँ र नेपाल इन्स्योरेन्सको ३८७.९६ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता क्रमशः ३७४, ५६९ रुपैयाँ र ४१९ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यी कम्पनीको सेयर कारोबारमा आउनेछन्।

गरिमा विकास बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा पुस २३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा हुनेछ। 

सभाले बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्ताव गरेको चुक्तापुँजीको ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१.८९ रुपैयाँको कुल १४.५ प्रतिशतले हुन आउने ६६ करोड ५६ लाख ७६ हजार ६५७.७८  रुपैयाँबराबरको लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख १३ हजार ५५५.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार १०२.५३ रुपैयाँबराबरको नगद लाभांश छन्। 

गरिमा विकास बैंकले साबिक सहारा विकास बैंक प्राप्ति गरी २०७८ कात्तिक २८ गतेदेखि एकीकृत कारोबार गरेको सन्दर्भमा प्रचलित कानुनबमोजिम लामांश कर छुट पाउने सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्नुका साथै कर छुट नपाउने सेयरधनीहरुको हकमा नगद लाभांशबाट कर भुक्तानी गरिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

यसैगरी प्राइम लाइफ इन्स्योरेन्सले आफ्नो १५ औँ वार्षिक साधारणसभा आउँदो पुस २४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७७ रुपैयाँको १३ प्रतिशतले हुन आउने बोनस सेयर पारित गर्नेछ। बोनस सेयर कर प्रयोजनार्थ छुट्याइएको १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँबराबरको नगद लाभांश पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले बोनस सेयर जारीपश्चातको हकसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्नेछ। कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समूहको सेयर लगानी अनुपात क्रमशः ६०ः४० रहेकोमा परिवर्तन गरी ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ आपसमा मर्जर सम्बनधमा मर्जर समितिबाट पेस हुन गएका प्रारम्भिक सम्झौतापत्रको मस्या स्वीकृत गर्नेलगायत सैद्धान्तिक स्वीकृतिका लागि बीमा प्राधिकरणसमक्ष निवेदन, सेयर कारोबार रोक्काका पत्राचार गर्ने, डीडीए गर्न लेखापरीक्षक, परामर्शदाता तथा मूल्यांकनकर्ता नियुक्त गर्नेलगायतका कार्य सञ्चालक समितिबाट भएका निर्णयहरु पनि अनुमोदन गर्नेछ। मर्जरसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावत पनि सभाले पारित गर्नेछ। 

त्यस्तै नेपाल इन्स्योरेन्सले आफ्नो ७४ औँ वार्षिक साधारणसभा आउँदो पुस २२ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल ८.४२११ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२११ प्रतिशत नगद लाभांश छन्। 

सभाले बोनस सेयर जारीपछि जारी तथा चुक्तापुँजीसम्बन्धी व्यवस्था संशोधन गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ। सभाले कम्पनीको ७० औँ वार्षिक साधारणसभाको निर्णयबमोजिम बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गर्नेछ।  

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ यी तीनै कम्पनीले आज पुस ८ गते बुक क्लोज गरेका छन्।