काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन बैंकसहित पाँच कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।

बोनस सेयरका लागि नेप्सेले सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि सिद्धार्थ बैंकको ३०१.३३ रुपैयाँ, नेपाल एसबीआर्य बैंकको २८७.७७ रुपैयाँ, लुम्बिनी विकास बैंकको ३३६.८९ रुपैयाँ, राधी विद्युतको २११.९३ रुपैयाँ र विन्ध्यवासिनी हाइड्रोपावरको ३६५.७१ रुपैयाँ कायम भएको छ। आजको अन्तिम कारोबार मूल्यअनुसार भने यी कम्पनीहरुको क्रमशः ३३९ रुपैयाँ, २९६.४ रुपैयाँ, ३४७ रुपैयाँ, २२२ रुपैयाँ र ३८४ रुपैयाँ थियो। 

अब समायोजित मूल्यअनुसार नै यी कम्पनीहरुको सेयर कारोबारमा आउने छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि पुस १३ गते बुक क्लोज गर्दैछन् । यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्रै यी सबैको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

सिद्धार्थ बैंकले २१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १३.१६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश छन्। 

यसैगरी नेपाल एसबीआई बैंकले आफ्नो २९ औँ वार्षिक साधारणसभा यही पुस २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९का प्रस्तावित हाल कायम चुक्तापुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँको कुल १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

लुम्बिनी विकास बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा यही पुस २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल १२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस सेयर र बाँकी ९ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

यस्तै राधी विद्युत कम्पनीले आर्थिक वर्ष २०७८–७९का लागि चुक्तापुँजीको कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ४.७५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.२५ प्रतिशतले हुन नआउने नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको त्रिपुरेश्वस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। 

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि चुक्तापुँजीको कुल ५.०२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश छन्। 

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले पुस २२ गते आफ्नो छैटौँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित कम्पनीको कार्यालयमा भौतिक तथा भर्चुअल माध्यमबाट हुनेछ।