काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि दुई वाणिज्य बैंकसहित ५ कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले हिमालयन बैंक, नबिल बैंक, महालक्ष्मी विकास बैंक, बुटवल पावर र सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता नबिलको ७२१.१० रुपैयाँ, हिमालयनको ३३८.०६ रुपैयाँ, महालक्ष्मीको ३३३.६५ रुपैयाँ, बुटवल पावरको ३२२.३८ रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको ५९१.६५ रुपैयाँ कायम भएको छ। 

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता नबिलको ८५४.३० रुपैयाँ, हिमालयनको ३६५.१० रुपैयाँ, महालक्ष्मीको ३४७ रुपैयाँ, बुटवल पावरको ३३८.५० रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको ६४४.९० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यी कम्पनीको सेयर कारोबारमा आउनेछन्।  

लाभांश र वार्षिक साधारणसभा प्रयोजना यी सबैले आज पुस १८ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो पुस १७ गतेसम्म कायम सेयरधनीहरुले यी कम्पनीहरुको लाभांश पाउनेछन्। 

नबिल बैंकले आफ्नो ३८ औँ वार्षिक साधारणसभा यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट सेन्टरमा बिहान १० बजेबाट हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ३० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश छन्। 

हिमालयन बैंकले आफ्नो ३० औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको सोल्टीमोडस्थित होटेल सोल्टीमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाबाट आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन हुनेछ। 

यसैगरी महालक्ष्मी विकास बैंकले २१ औँ वार्षिक साधारणसभा पनि यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस सेयर र बाँकी ६.४७ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

त्यस्तै बुटवल पावर कम्पनीले आफ्नो ३० औँ वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १२.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

सिद्धार्थ इन्स्योरेन्सले आफ्नो २१ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ९.४७३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश छन्।