काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हिमालयन डिस्टिलरी र मुक्तिनाथ विकास बैंकसहित ५ कम्पनीमा सेयर मूल्य समायोजन गरेको छ। 

नेप्सेले हिमालयन डिस्टिलरी, मुक्तिनाथ विकास बैंक, साधना लघुवित्त, मिर्मिरे लघुवित्त र गुराँस लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो। जसअनुसार प्रतिकित्ता हिमालयन डिस्टिलरीको २५१८.७५ रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ४१९.३८ रुपैयाँ, साधना लघुवित्तको ९०४.२० रुपैयाँ, मिर्मिरे लघुवित्तको ८२१.३८ रुपैयाँ र गुराँस लघुवित्तको ८००.१९ रुपैयाँ कायम भएको छ। 

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार हिमालयन डिस्टिलरीको ४०३० रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ४७६ रुपैयाँ, साधना लघुवित्तको १०७६ रुपैयाँ, मिर्मिरे लघुवित्तको १०१०.३० रुपैयाँ र गुराँस लघुवित्तको ८३२.२० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यी कम्पनीको सेयर कारोबारमा आउनेछ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि यी कम्पनीले आज पुस २० गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षका लागि ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद (करसहित) गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको पुस २९ गते हुने २२ औँ वार्षिक साधारणसभा पारित गर्नेछ। सभा वीरगन्जस्थित कम्पनीको रजिस्टर्ड कार्यालय बिहान १० बजेबाट सुरु हुनेछ।

यसैगरी मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षका लागि १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश बैंकले यही पुस ३० गते हुने १६ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्। सभा पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान १० बजेदेखि सुरु हुनेछ।

मिर्मिरे लघुवित्तले गत आर्थिक वर्षका लागि २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाको यही पुस पुस ३० गते १२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ। सभा भक्तपुरको सूर्यविनायकस्थित योयो ब्याक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

त्यस्तै साधना लघुवित्तले गत आर्थिक वर्षका लागि १९ बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाले यही पुस ३० गते हुने छैटौँ वार्षिक साधारणसभाबाट पारित हुनेछ। सभा गोरखाको बिसौनीस्थित सामना होटेलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

गुराँस लघुवित्तले गत आर्थिक वर्षका लागि ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाको यही पुस ३० गते हुने वार्षिक साधारणसभा अनुमोदन हुनेछ। सभा धनकुटाको भेडेटार भिलेज रिसार्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ।