काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५००.२८ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५३०.३० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आज पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो पुस २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारणसभा आउँदो माघ ९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको लाजिम्पाटस्थित होटेल लि हिमालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० रुपैयाँको ६ प्रतिशतबराबरको बोनस सेयर पारित गर्नेछ। बोनस सेयर कर प्रयोजनार्थ छुट्याइएको ५३ लाख ७३ हजार ६३६.०६ रुपैयाँबराबरको नगद लाभांश पनि सभाले अनुमोदन गर्नेछ। 

बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम बीमा ऐन, २०७९ अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयसापेक्ष रुपमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदन छलफल गरी स्वीकृत गर्नेछ।