काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि आँधिखोला लघुवित्त वित्तीय संस्था र नेको इन्सुरेन्सको सेयरभाउ समायोजन गरेको छ। 

नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता आँधिखोला लघुवित्तको १३६५.७७ रुपैयाँ र नेको इन्सुरेन्सको ७७८.४३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता क्रमशः १७७५.५० र ८९५.२० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन्। 

यी दुवै लाभांश वार्षिक साधारणसभा प्रयोजनार्थ आज माघ ३ गते बुक क्लोज गरेका छन्। यसको अर्थ पुस २८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। माघ २ सरकारले पोखरा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिएकोले सेयर बजार बन्द थियो।

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा यही माघ १३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा स्याङ्जाको वालिङ–८ वालिङस्थि होटेल गाउँबेसीको सभाहलमा बिहान ११ः३० बजेबाट हुनेछ। 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई संस्था सेयरपुँजीको ११ करोड ९० लाख रुपैयाँको कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लभांशमा ३० प्रतिशतले हुन आउने ३ करोड ५७ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशतले हुन आउने १८ लाख ७८ हजार ९४७.३७ रुपैयाँबराबरको नगद लाभांश छन्। 

सभाले बोनस सेयर वितरणपछि जारी पुँजी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

सभाले एक वा एकभन्दा बढी लघुवित्त संस्था गाभ्ने, गाभिने र प्राप्ति गर्न उपयुक्त देखिएमा सोहीबमोजिम प्रक्रिया अगाडि बढाउन आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन पनि अनुमोदन गर्नेछ। 

यसैगरी नेको इन्सुरेन्सले आफ्नो २७ औँ वार्षिक साधारणसभा यही माघ १५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट हुनेछ। 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश अनुमोदन गर्ने छ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश छन्। 

सभाले बोनस सेयरको हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सेयर संरचनाअनुसार सञ्चालक समितिमा प्रतिनिधित्वसम्बन्धी प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षक प्र।ितवेदन पनि अनुमोदन गर्नेछ।