काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि रिडी पावर र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता रिडी पावरको ३८५ रुपैयाँ र अरुण भ्यालीको ३०८.३३ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता रिडी पावरको ५३९ रुपैयाँ र अरुण भ्यालीको ३३३ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यी दुवैको सेयर कारोबारमा आउनेछन्। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी दुवै कम्पनीले आज माघ १८ गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो माघ १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

रिडी पावर कम्पनीले आफ्नो २१ औँ वार्षिक साधारणसभा यही माघ २९ गते आयोजना गर्दैछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ४२.१० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशत नगद लाभांश छन्। 

वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

यसैगरी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ८.४२१ प्रतिशत लााभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२१ नगद लाभांश (कर प्रयोजनार्थ) छन्। 

बोनस सेयर वितरणपछि कम्पनीको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले कम्पनीले निर्माण गर्न लागेको बुदुम खोला जलविद्युत आयोजना (१४.५० मे.वा.)का लागि ऋण स्वीकृत गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी स्वीकृत गर्नेछ।