काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ। 

समायोजित मूल्यअनुसार प्रतिकित्ता ज्योति विकास बैंकको ३०६.८० रुपैयाँ, सगरमाथा इन्स्योरेन्सको ७११.५७ रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको ५३१.८३ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता क्रमशः ३१६ रुपैयाँ, ७९९.८० रुपैयाँ र ५६९ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यी कम्पनीको सेयर कारोबारमा आउनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ ज्योति विकास बैंकले माघ २९ गते र सगरमाथा र लुम्बिनी इन्स्योरेन्सले आज माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो माघ २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य भएका छन्। 

ज्योति विकास बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा आउँदो फागुन १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ६.८० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई गाभ्ने वा प्राप्ति गर्ने सन्दर्भमा प्रचलित कानुनबमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

सभामा गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृति गरिनेछ। 

यसैगरी सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एकैदिन आउँदो फागुन ११ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेका छन्। जसअनुसार लुम्बिनी जनरल इन्स्योरेन्सको १८ औँ वार्षिक साधारणसभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभो क्याटरिङ र सगरमाथा इन्स्योरेन्सको २६ औँ वार्षिक साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा हुनेछ। 

दुवै सभाले आपसमा मर्ज हुने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। मर्जर प्रयोजनका लागि तय गरिएको सगरमाथाको १०० कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको १०० कित्ताबराबर ८० कित्ता अर्थात १००ः८० सेयर स्वाप रेसियो पनि सभाले स्वीकृत गर्नेछ। 

सभाले मर्जरसँग सम्बन्धित अन्य निर्णय कार्यान्वयन गर्ने सिलसिलामा नेपाल बीमा प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय कार्यालय वा अन्य नियामक निकायबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशन कार्यान्वयन गर्न तथा मर्जर सम्बन्धमा गर्नुपर्ने बाँकी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

मर्जरपछि कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कायम गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। 

लुम्बिनी जनरल इन्स्योरेन्सको सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ६.९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६७९ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्नेछ। 

यसैगरी सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको १२.४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ। सभाले बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सोही सभाले कम्पनीको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।