काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि निर्धन उत्थान लघुवित्त र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता निर्धन उत्थानको ८३४.४५ रुपैयाँ र इन्फिनिटीको ८३१.६७ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार निर्धन उत्थानको ९९३ रुपैयाँ र इन्फिनिटीको ९९८ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी दुवै लघुवित्तको सेयर कारोबारमा आउनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै लघुवित्तले आज फागुन २ गते बुक क्लोज गरेका छन्। यसको अर्थ माघ २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

निर्धन उत्थान लघुवित्तले आफ्नो २४ औँ वार्षिक साधारणसभा यही फागुन १२ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नक्सालस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश छन्।

बोनस सेयर अनुमोदन गर्नेछ। बोनस सेयर वितरणपछि चुक्तापुँजी र जारी पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। 

सभाले संस्थाको सञ्चालक समितिका सदस्यहरुको मनोनयन तथा नियुक्ति अनुमोदन गर्नेछ। 

गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभामा छलफल गरी स्वीकृत गरिनेछ। 

यसैगरी इन्फिनिटी लघुवित्तले आफ्नो छैटौँ वार्षिक साधारणसभा यही फागुन १३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा नवलपरासीको गैंडाकोटमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ। बोनस सेयर वितरणपछि चुक्तापुँजी र जारी पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। 

सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन आवश्यक देखिएमा सम्पूर्ण क्रियाकलाप गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रस्ताव पारित गर्नेछ। 

गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभामा छलफल गरी स्वीकृत गरिनेछ।