काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि उपकार लघुवित्त र अपी पावरको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता उपकार लघुवित्तको २३१०.३६ रुपैयाँ र अपी पावरको २६६.०५ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यी दुई कम्पनीको प्रतिकित्ता त्रमशः ३७३७ रुपैयाँ र २६८ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ उपकार लघुवित्त र अपी पावर कम्पनीले आज फागुन ४ गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो फागुन ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य भएका छन्। 

उपकार लघुवित्तले आफ्नो १४औँ वार्षिक साधारणसभा आउँदो फागुन १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली (सामुदायिक होमस्टे)मा आयोजना गरिनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ६५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.२५ प्रतिशतले हुन आउने नगद लाभांश छन्। 

यसैगरी अपी पावरले आफ्नो १९ औँ वार्षिक साधारणसभा यही फागुन १४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँको कुल ७.८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश छन्। 

सोही सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः०.४ अर्थात ४० प्रतिशतले हुन आउने १ अर्ब ६५ करोड ३४ लाख रुपैयाँबराबर हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।