काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि आदर्श लघुवित्त र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता आदर्श लघुवित्तको १३७५ रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको ८९५.९८ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम मूल्यअनुसार आदर्शको १६५० रुपैयाँ र ग्लोबल आइएमईको १००३.५० रुपैयाँ रहेको छ। अब समायोजित मूल्यअनुसार नै यी दुवै लघुवित्तको सेयर कारोबारमा आउनेछन्। 

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ यी दुवै लघुवित्तले आज फागुन १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो फागुन १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

आदर्श लघुवित्तले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको बनेपा–११ सिनागलमा रहेको गौतम भिजेल रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

सभाले डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनका लागि सम्पन्न सम्झौतापत्र, सहमतिपत्र, संयुक्त प्राप्ति समिति गठन एवं संयुक्त प्राप्ति समितिलाई आवश्य कार्य गर्न सक्ने अख्तियारी प्रत्यायोजन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गर्नेछ। 

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न सभाले स्वीकृति प्रदान गर्नेछ। प्राप्ति प्रयोजनका लागि अन्तिम सम्झौतापत्रलगायत अन्य कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

आदर्श लघुवित्तलाई प्राप्ति गरेपछि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक र आर्थिक प्रतिवेदन पनि स्वीकृति गर्नेछ। 

यसैगरी ग्लोबल आइएमई लघुवित्तले आफ्नो १० औँ वार्षिक साधारणसभा यही फागुन २४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखराको बैस्ट रिसोर्ट नेपालमा बिहान ९ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी पनि वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरुमा इनवार्ड रेमिट्यान्ससम्बन्धी कार्यहरु गर्न खण्ड (प) थप गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

सभाले अन्य उपयुक्त लघुवित्त संस्था आपसमा गाभ्ने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।