काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै प्रतिकित्ता ८३८.५२ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १०२३ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्दैछ। यसको अर्थ हिजो फागुन २३ गते (आज फागुन २४ गते नारी दिवसमा सार्वजनिक बिदा)सम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

संस्थाले आफ्नो २१ औँ वार्षिक साधारणसभा आउँदो चैत १० गते आयोजना गर्दैछ। सभा मकवानपुरको हेटौँडा–४स्थित होटेल सामनामा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको कुल २५.२६ प्रतिशतले हुन आउने ५८ करोड ७० लाख ६७ हजार ६६० रुपैयाँबराबरको लाभांश अनुमोदन गर्नेछ। जसमा २२ प्रतिशतले हुन आउने ५१ करोड १३ लाख २ हजार रुपैयाँबराबरको बोनस सेयर र ३.२६ प्रतिशतले हुन आउने ७ करोड ५७ लाख ६५ हजार ६६० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।