काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि साल्ट ट्रेडिङ कर्पोरेसन, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त र आशा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता साल्ट ट्रेडिङको ३०४९.९१ रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ३११.४२ रुपैयाँ, साना किसान विकास लघुवित्तको ८८८.१० रुपैयाँ र आशा लघुवित्तको ७५२.५० रुपैयाँ कायम गरेको छ। 

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता साल्ट ट्रेडिङको ४३३५ रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ३३८ रुपैयाँ, साना किसान विकास लघुवित्तको १११९ रुपैयाँ र आशा लघुवित्तको ८६० रुपैयाँ कायम गरेको भएको थियो। अब समायोजित मूल्यअनुसार यी ४ कम्पनीको सेयर कारोबारमा आउनेछन्। 

वार्षिक साधाणसभा र लाभांश प्रयोजनार्थ साल्ट ट्रेडिङ र आशा लघुवित्तले आज फागुन २६ गते तथा सांग्रिला डेभलपमेन्ट बैंक र साना किसान विकास लघुवित्तले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो फागुन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी तीनै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो ५६ औँ वार्षिक साधारणसभा आउँदो चैत १० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा मध्याह्न १२ः१५ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा आउँदो चैत १७ गते आयोजना गर्ने निर्णय गरेको छ। 

सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चित मुनाफाबाट प्रस्तावित चुक्तापुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको कुल ८.९८३ प्रतिशतले हुन आउने २७ करोड ४ लाख ४४ हजार २६८.११ रुपैयाँ लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा ८.५३४ प्रतिशतले हुन आउने २५ करोड ६९ लाख २२ हजार ५४.७१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४४९ प्रतिशतले हुन आउने १ करोड ३५ लाख २२ हजार २१३.४० रुपैयाँबराबरको नगद लाभांश छन्। 

साना किसान विकास लघुवित्तले आफ्नो २१ औँ वार्षिक साधारणसभा आउँदो चैत १० आयोजना गर्ने निर्णय गरेको छ। सभा भक्तपुरको बोडेस्थित कृषिविकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले संस्थाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७.६० रुपैयाँको कुल २७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २६ प्रतिशतले हुन आउने ४० करोड ६७ लाख ४७ हजार ५६९.१८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.३६८४ प्रतिशतले हुन आउने २ करोड १४ लाख ७ हजार ७६६.८० रुपैयाँबराबरको नगद लाभांश छन्।

त्यस्तै आशा लघुवित्तको छैटौँ वार्षिक साधारणसभा आउँदो चैत ११ हुनेछ। सभा नुवाकोटको ककनी–६ स्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७१ नगद लाभांश छन्।