काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९का लागि कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै प्रतिकित्ता कृषि विकास बैंक २९३.१४ रुपैयाँ र स्वरोजगार लघुवित्तको ६६३.९३ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार कृषि विकास बैंकको प्रतिकित्ता २९९ रुपैयाँ र स्वरोजगार लघुवित्तको ८१० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यी दुवैको सेयर कारोबारमा आउनेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवैले आज फागुन ३० गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो फागुन २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवैको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

कृषि विकास बैंकले आफ्नो सोह्रौँ वार्षिक साधारणसभा आउँदो चैत १४ गते डाकेको छ। सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश रहेका छन्। 

यसैगरी स्वरोजगार लघुवित्तले आफ्नो १४ औँ वार्षिक साधारणसभा आउँदो चैत ११ आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल २३।१५७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश छन्।