काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि तीन लघुवित्त वित्तीय संस्थाहरुको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले आरएमडीसी, समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो। जसअनुसार प्रतिकित्ता आरएमडीसीको ७३८.२५ रुपैयाँ, ६३९.५७ रुपैयाँ र मनकामना स्मार्टको ७२५.५४ रुपैयाँ कायम भएको छ।

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता आरएमडीसीको ७६० रुपैयाँ, ७३५.५० रुपैयाँ र मनकामना स्मार्टको ७६० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी तीनै लघुवित्तको सेयर कारोबारमा आउनेछन्। 

यी तीनै लघुवित्तले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ आज चैत १ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो फागुन ३० गतेसम्म कायम सेयरधनीहरुमात्रै यी लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

आरएमडीसी लघुवित्तले आफ्नो २४ औँ वार्षिक साधारणसभा यही चैत १० आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले संस्थाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२७ रुपैयाँको कुल २७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २६ प्रतिशतले हुन आउने ३२ करोड २६ लाख ७७ हजार २४५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.३६८४ प्रतिशतले हुन आउने १ करोड ६९ लाख ८३ हजार १३ रुपैयाँबराबरको नगद लाभांश छन्।

यसैगरी समता घरेलु लघुवित्तले आफ्नो नवौँ वार्षिक साधारणसभा यही चैत ११ आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको हिमालयन दृश्य रिसोर्टमा बिहान ११ः३० बजेबाट हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वितरणयोग्य मुनाफाबाट प्रस्तावित चुक्तापुँजी ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँको कुल १८ प्रतिशतले हुन आउने ६ करोड १६ लाख ९३ हजार ९५४.५६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। जसमा १५ प्रतिशतले हुन आउने ५ करोड १४ लाख ११ हजार ६२८.८० रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने १ करोड २ लाख ८३ हजार ३२५.७६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

त्यस्तै मनकामना स्मार्ट लघुवित्तले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही चैत १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको सिद्धार्थनगर–६स्थित होटेल पौवामा आयोजना गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँको कुल ५ प्रतिशतले हुन आउने ७० लाख ८७ हजार २७५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लाभांशमा ४.७५ प्रतिशतले हुन आउने ६७ लाख ३२ हजार ९११.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ३ लाख ५४ हजार ३६३.७५ रुपैयाँबराबरको नगद लाभांश छन्।