काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि विजय लघुवित्त र कालिका लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता विजय लघुवित्तको ६५८.३३ रुपैयाँ र कालिका लघुवित्तको ६५९.६६ रुपैयाँ कायम गरेको छ। यसको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता विजय लघुवित्तको ७९० रुपैयाँ र कालिका लघुवित्तको ७८५ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यी दुवै लघुवित्तको सेयर कारोबारमा आउनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै लघुवित्तले आज चैत १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो चैत १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी लघुवित्तको लाभांश पाउन योग्य भएका छन्। 

विजय लघुवित्तले आफ्नो १० औँ वार्षिक साधारणसभा यही चैत २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट–८स्थित विजय विकास स्रोत केन्द्रमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश वितरण प्रस्ताव अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश छन्। 

यसैगरी कालिका लघुवित्तले आफ्नो १३ औँ वार्षिक साधारणसभा यही चैत २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखराको बुद्धचोकस्थित होटेल टास्क इन्टरनेसनलको सभाहलमा बिहान ९ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट हाल कायम चुक्तापुँजी ३१ करोड २८ लाख ७५ हजार ४११.३५ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा १९ प्रतिशतले हुन आउने ५ करोड ९४ लाख ४६ हजार ३२८.१६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने ३१ लाख २८ हजार ७५४.११ रुपैयाँबराबरको नगद लाभांश छन्।