काठमाण्डौ । हकप्रद सेयरका लागि नेसनल हाइड्रोपावर कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ५० प्रतिशत हकप्रदका लागि सेयरमूल्य समायोजन गर्दै नेसनल हाइड्रोपावरको प्रतिकित्ता १८२.०७ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २२३.१० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

नेसनल हाइड्रोपावरले हकप्रद निष्कासन प्रयोजनार्थ आज असार १ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो जेठ ३२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा खरिद आवेदन दिन पाउने भएका छन्। 

गत जेठ २२ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेसनल हाइड्रोपावरलाई चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ।

सेबोनको अनुमतिसँगै अब नेसनल हाइड्रोपावरले चुक्तापुँजीको ५० प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ४५ हजार ९७२ रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७२ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।