काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। 

नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि सामुदायिक लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १०२१.८२ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ११२४ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आज असार १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो असार १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभा यही असार २२ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको धुलिखेल–३ नयाँगाउँमार्गस्थित धुलिखेल लज रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

सोही सभाले बोनस सेयर वितरणपछि संस्थाको जारी र चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

सभाले अन्य लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। बिपिडब्लु लघुवित्तसँगको मर्जर कार्यको प्रक्रिया अगाडि बढाउने सञ्चालक समितिको निर्णय सभाले पारित गर्नेछ। 

सोही सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।