काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ अपर तामाकोशीको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अपर तामाकोशीको प्रतिकित्ता २४३.०५ रुपैयाँ कायम भएको छ। आजको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ३८६.१० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको आइतबारबाट सेयर कारोबार खुल्नेछ। 

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भोलि साउन २६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन्। 

गत असार २२ गते अपर तामाकोशीलाई नेपाल धितोपत्र बोर्डले चुक्तापुँजीको १ः१ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको थियो। 

हाल अपर तामाकोशीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। अब यो कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ। 

हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। 

अपर तामाकोशीको हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल छन्।