काठमाण्डौ । टमाटर र अब प्याजको मूल्य बढेपछि भारत सरकारको चिन्ता बढेको छ।

भारत सरकारले प्याजको मूल्यवृद्धि रोक्न ठोस कदम चाल्ने योजनामा काम गरिरहेको छ। उसले प्याजको मूल्यवृद्धिलाई रोक्न शनिबार ठूलो निर्णय गरेको छ। 

प्याज निकासीमा ठूलो घोषणा आन्तरिक बजारमा प्याजको उपलब्धता बढाउन र मूल्य नियन्त्रण गर्न भारत सरकारले शनिबार यो प्रमुख तरकारीको निर्यातमा आउँदो डिसेम्बर ३१ सम्मको न्यूनतम निर्यात मूल्य (एमईपी) प्रतिटन ८०० डलर तोकेको छ। यो निर्णय आज अक्टोबर २९ देखि लागू भएको छ। 

यसका साथै भारत सरकारले खरिद गरेको ५ लाख टनभन्दा बढी हुने गरी बफर स्टकका लागि थप २ लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ। एमईपी बेंगलुरु रोज र कृष्णपुरम प्याजबाहेक सबै प्याज प्रजातिका लागि लागू हुनेछ। ‘अन्य देशमा पठाइने प्याजको एमईपी डिसेम्बर ३१ सम्म बढाएर प्रतिटन ८०० डलरमा पुर्‍याइएको छ’, विदेश व्यापार महानिर्देशनालयद्वारा जारी एक सूचनामा भनिएको छ। 

सन् २०२३ का लागि भण्डारण गरिएको प्याजको मात्रा घट्दै गएकाले घरेलु उपभोक्तालाई सुपथ मूल्यमा प्याजको पर्याप्त उपलब्धता कायम राख्न यस कदमले मद्दत गर्ने सूचनामा उल्लेख छ। प्याजका लागि प्रतिटन ८०० डलर एमईपी लगभग भारु ६७ प्रतिकेजी पर्न जान्छ। 

अगस्टको दोस्रो सातादेखि भारतभरका प्रमुख उपभोग केन्द्रमा बफर स्टकबाट प्याज निरन्तर तानिएको छ र एनसीसीएफ र नाफेडद्वारा सञ्चालित मोबाइल भ्यानबाट पनि प्रतिकिलो २५ रुपैयाँका दरले खुद्रा उपभोक्तालाई आपूर्ति भइरहेको छ।

भारतले निर्यात शुल्क तोकेसँगै यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने देखिन्छ। नेपाली बजारमा ९० प्रतिशत भारतीय प्याज खपत हुन्छ। चाडपर्वका बेला भारतले निर्यात शुल्क तोकेपछि नेपाली बजारमा प्याजको मूल्य बढ्ने जानकारहरु बताउँछन्।