काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको मूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एनआईसी एसिया ग्रोथ फन्ड र एनआईसी एसिया ब्यालेन्स्ड फन्डको लाभांश वितरण प्रयोजनार्थ मूल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि प्रतिइकाइ ग्रोथ फन्डको ८.९५ रुपैयाँ र ब्यालेन्स्ड फन्डको ८.३० रुपैयाँ कायम भएको छ। 

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिइकाइ ग्रोथ फन्डको १० रुपैयाँ र ब्यालेन्स्ड फन्डको ९.३० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी दुवैको इकाइ कारोबारमा आउनेछ।

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले आर्थिक वर्ष २०७९–८०का लागि एनआईसी एसिया ग्रोथ फन्ड र एनआईसी एसिया ब्यालेन्स्ड फन्डको लाभांश वितरण प्रयोजनार्थ आज कात्तिक २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो कात्तिक २१ गतेसम्म कायम इकाइधनीले यी दुवै योजनाको लाभांश पाउन योग्य भएका छन्। 

क्यापिटलले करसहित एनआईसी एसिया ग्रोथ फन्डका इकाइधनीहरुलाई १०.५० प्रतिशत र एनआईसी एसिया ब्यालेन्स्ड फन्डका इकाइधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

ती दुवै योजनाका इकाइधनीहरुलाई क्रमशः ८ करोड ७६ लाख ९६ हजार रुपैयाँ र ७ करोड ५५ लाख रुपैयाँ नगद प्रतिफल वितरण गरिने क्यापिटलले जनाएको छ।