काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले महिला लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३ हजार ६५८.९८ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो लघुवित्तको सेयरभाउ प्रतिकित्ता ५ हजार ३९७ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो लघुवित्तको सेयर कारोबारमा आउनेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि महिला लघुवित्तले आज मंसिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो मंसिर १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ५० प्रतिशत लाभांश प्रस्तावत गरेको छ। जसमा ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश रहेका छन्।

संस्थाले यही मंसिर २२ गते आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।