काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि स्वाभिमान लघुवित्त र आईसीएफसी फाइनान्सको सेयरमूल्यमा समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि स्वाभिमान लघुवित्त र आईसीएफसी फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता स्वाभिमान लघुवित्त १९१९.८८ रुपैयाँ र आईसीएफसीको ६३९.८२ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता स्वाभिमानको २५४० रुपैयाँ र आईसीएफसीको ७०३.८० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यी दुवैको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि स्वाभिमान लघुवित्त र आईसीएफसी फाइनान्सले आज मंसिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको मतलब हिजो मंसिर २२ गतेसम्म कायम सेयरधनीहरु यी दुई संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षका लागि कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३२.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.७ प्रतिशत नगद लाभांश रहेका छन्।

संस्थाको आउँदो पुस ८ गते हुने पाँचौँ वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी आईसीएफसी फाइनान्सले कुल १४ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १० प्रतिशत बोनस र ४ प्रतिशत नगद (करसहित) रहेका छन्।

यो लाभांश संस्थाको आउँदो पुस ५ गते हुने १८ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।