काठमाण्डौ । मृगौला रोगबाट पीडितहरुको माग र पीडालाई ध्यानमा राखी स्वास्थ्यमन्त्री गगनकुमार थापाले डायलोसिस सेवा पूर्ण निःशुल्क गर्ने निर्णय गराएका छन् । 

मन्त्री थापाको प्रयासमा यसअघि हप्तामा दुईपटक मात्रै निःशुल्क गरिएको डायलोसिस सेवालाई पूर्ण निःशुल्क गरिएको हो । 

मन्त्री थापाको निर्देशन अनुसार पूर्ण निःशुल्क सो सेवाको  बिषयमा स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखाले मिर्गाैलाका बिरामीहरुका लागि आवश्यकता अनुसारको डायलोसिस निःशुल्क गर्न सम्बन्धित अस्पतालहरुलाई परिपत्र गरेको छ ।

विरामीले मिर्गाैला प्रत्यारोपण नगर्दासम्म हप्तामा तीन पटक सम्म डायलोसिस गर्नुपर्ने हुन्छ । एकपटक डायलोसिस गर्दा २५ सय रुपैयाँ खर्च लाग्ने भएकोले आर्थिक अवस्था कमजोर भएकाहरुले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था थियो । 
देशमा मृगौला रोगीको संख्या बढेपछि सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत हप्तामा दुईपटक मात्र डायलोसिस निःशुल्क गर्ने घोषणा गरेको थियो । सो घोषणप्रति मृगौला पीडितले असन्तोष व्यक्त गरेका थिए । 

प्रधानमन्त्रीको घोषणा, सरकारको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र स्वास्थ्य मन्त्रालयको निर्णय समेतबाट सम्पूर्ण डायलोसिस निःशुल्क भएको बताइएको छ । 

नेपालमा अहिले मानव अंग प्रत्यारोपण केन्द्र र किड्नी सेन्टरसहित ३२ अस्पतालहरुमा निःशुल्क डायलोसिसको व्यवस्था छ । यीमध्ये चार अञ्चल अस्पताल छन् भने बाँकी अञ्चल अस्पतालहरुमा पनि मन्त्रालयले निःशुल्क डायलोसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।